हिमाल दैनिक
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकासँगै आफ्नो भागमा परेका अन्य दुई महानगरपालिकाको प्रमुख र थप तनि महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवारहरुको टुंगो लगाएको छ। पार्टीको विगत अभ्यास र परम्परालाई नदोहोर्याएर समयमै उम्मेदवार छनौट प्रक्रिया टुंग्याउने दाबी गर्दै आएको कांग्रेसले अन्ततः पुरानै प्रचलन बमोजिम सोमबार मात्रै उम्मेदवारहरुको नाम टुंग्याएको हो। जसअुनसार, देशकै संघीय राजधानीका रुपमा परिचित पुरानो महानगरपालिका काठमाडौंमा कांग्रेसले पार्टी नेता प्रकाशमान सिंहकी धर्मपत्नी श्रृजना सिंहलाई प्रमुख पदको उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनमा सहभागी दलहरुबीचको भागवण्डामा कांग्रेसको हिस्सामा परेको ललितपुरमहानगरपालिकाको प्रमुख पदमा वर्तमान प्रमुख चिरिबाबु महर्जन र विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइरालालाई मैदानमा उतारेको छ। गण्डकी प्रदेशको सदरमुकाम तथा पर्यटकीय नगरी पोखरामहानगरपालिकामा प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई छाडेको कांग्रेसले उपप्रमुखमा कोपिला रानाभाटलाई उम्मेदवार बनाएको छ भने भरतपुर महानगरपालिकाको उपप्रमुखमा चित्रसेन अधिकारी र वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा जिल्ला सचिव इम्तियाज आलमलाई टिकट दिइएको छ। चर्को विवाद र विरोधका बाबजूद गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिमा कांग्रेसले भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री तथा वर्तमान प्रमुख रेणु दाहाल तथा वीरगञ्जमा जनता समाजवादीलाई प्रमुख पद दिइएको थियो। यसरी टिकटको वितरण गर्दा कांग्रेसभित्र अहिलेपनि गुटगत आधार तथा नेताको प्रभावमै उम्मेदवार छनौट प्रक्रियाले निरन्तरता पाएको छ। जसमा काठमाडौंको प्रमुख पदमा सिंह पत्नी श्रृजनाले पाएकी छिन् भने ललितपुरको प्रमुखमा सभापति शेरबहादुर देउवाको अडानमा महर्जन तथा विराटनगरको प्रमुखमा नेता शेखर कोइरालाको सिफारिसमा नागेशले टिकट हात पारेका हुन्। पोखराको उपप्रमुखमा रानाभाट र चितवनको उपप्रमुखमा कोइराला निकट अधिकारी तथा वीरगञ्जको उपप्रमुखमा संस्थापन पक्षका आलमले टिकट पाए।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update