हिमाल दैनिक
‘नाम होस् कि बदनाम होस् तर, गुमनाम नहोस्’ भन्ने मान्यतामा चल्दै केशव स्थापित!
CKK-KTM-KTMChiefMananonayana
आधुनिक सभ्य समाजमा मात्रै होइन, परापूर्वदेखि नेपाली समाजमा चल्दै आएको कथन छः नाम होस् कि गुमनाम तर, बदनाम नहोस्। तर, नेपाली राजनीतिमा विशेषगरी नेकपा एमालेमा यस्ता पनि नेता छन् जसले आफूलाई गुमनाम हुन भन्दा बदनामकै साहारामा भएपनि चर्चाको शीखरमा राखिरहन चाहन्छन्। त्यी पात्र हुन् नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदमा खडा गरेका चर्चित पात्र केशव स्थापित। पार्टी नेता मदन भण्डारीको निधन पश्चात काठमाडौंमा आजभन्दा झण्डै २९ वर्ष पहिले भएको उपनिर्वाचनमा तत्कालिन एमाले उम्मेदवार तथा भण्डारी पत्नी विद्यादेवी भण्डारीविरुद्ध मैदानमा उत्रिएका कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउँदै भण्डारीलाई जिताउँन स्थापितले गरेको अराजनीतिक गतिविधिको विषयमा अहिले उनी स्वयंले सगर्व स्वीकार मात्र गर्दैनन्। ०५४ सालको स्थानीय तह निर्वाचनमा महानगरको प्रमुख पदमा निर्वाचित भएपछि उक्त कार्यकालमा आफूविरुद्ध एक महिलाले यौन दुव्र्यवहारको आरोपप्रति पनि उनलाई कुनै आत्मग्लानी छैन। विभिन्न कालखण्डमा कहिले एमालेबाट विभाजित भएको मालेमा त कहिले इतिहासको पानाबाट हराएको प्रजापरिदमा त कहिले फेरि फर्किएर एमालेकै कोटामा वागमती प्रदेश सदस्य तथा प्रदेशको मन्त्री बनेर सधैँ चर्चाको शीखरमा रहँदै आएका स्थापितलाई अहिले फेरि पनि एमालेले काठमाडौंको महानगर प्रमुख पदको प्रत्यासी बनायो। निर्वाचन कार्यतालिका अनुसार, सोमबार आफ्नो पार्टीका नेता, कार्यकर्तासहित मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृहमा पुगेका स्थापितले मनोनयन दर्ताको विषयमा समाचार संकलन गर्न पुगेका संचारकर्मी माझ अति गम्भीर विषयलाई पनि हल्का टिप्पणी गर्दै उडाएपछि सामाजिक संजालमा चर्चाको विषय बनेको छ। उनीविरुद्ध एक महिला कर्मचारीले महानगरको प्रमुख हुँदा स्थापितले यौन दुव्र्यवहार गरेको आरोप लगाएको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा स्थापितले आफ्ना विरुद्ध बेला बेलामा यस्ता विवाद उठ्ने कुरा सामान्य भएको प्रतिक्रिया दिए। ‘म जत्तिको व्यक्तिमाथि इस्यू भएन भने केशव स्थापित केशव स्थापित नै भएन। विवाद नआउने पनि केशव स्थापित हुन्छ र?’ भन्दै यौन दुव्र्यवहारको आरोप लागेको विषयलाई पनि सामान्य विवादको उपमा दिए। उनले दिएको उक्त जवाफले अहिले आम संचारमाध्यम मात्र होइन, सामाजिक संजालमा समेत आलोचनाको सामाग्री भइरहेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update