हिमाल दैनिक
काठमाडौं महानगरको नेतृत्व लिन मैदानमा उत्रिइन् सिर्जना सिंह
CKK-KTM-NetriSingh
काठमाडौं महानगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गरेकीछिन्। सोमवार राष्ट्रिय सभागृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकको साथ लागेर पगेकी सिंहले महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिइन्। नेपाली कांग्रेस पार्टीसँगै काठमाडौं महानगरपालिकाको इतिहासमा सिंह परिवारबाट मेयर पदका लागि प्रत्यासी हुने सिर्जना दोस्रो व्यक्ति हुन्। यसअघि २०४९ सालको स्थानीय तह निर्वाचनमा सिंह परिवारकै एक सदस्य पीएल सिंह महानगरको मेयर पदमा निर्वाचित भएपछि उनले त्यतिबेला गरेको सुधारका कामको आधारमा उनलाई महानगरको पिताका नामले चिनिएका थिए। झण्डै ३० वर्षपछि महानगरको प्रमुख नेतृत्व लिने अवसरको खोजी गर्दै सिंह मैदानमा उत्रिएकी छिन् जसको अग्निपरिक्षा आगामी वैशाख ३० गते हुँदैछ। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको परिवारकी सदस्यका रुपमा परिचित सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत हुन्। उनलाई सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा मनोनयन दर्ता गराउन अन्य सहयात्री दलले साथ दिएका छन्। विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा लागेपनि पारिवारिक बन्धनमा बाँधिएपछि केही समय राजनीतिक प्रतिस्पर्धाको मैदानमा नदेखिएकी सिंह अब सक्रिय राजनीतिको मैदानमा पुनः उत्रने कोशिशमा छिन्। मनोनयन दर्ताका लागि सभागृहमा सिंह अपरान्ह पार्टी नेता तथा पति सिंहका अतिरिक्त महामन्त्री गगनकुमार थापा लगायतका नेताहरुको साथमा उभिएकी थिइन्। मनोनयन दर्तापछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले आफ्ना सबै योजना काठमाडौंलाई मध्यनजर गरेर काठमाडौंको उत्थानका लागि हुने बाचा गरिन्। उम्मेदवार सिंहले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर बनाउने तथा काठमाडौंमा पनि अझै महिलालाई सम्मान व्यवहार नभएको भन्दै महिलाको हकहीतमा काम गर्ने प्रतिवद्धता जनाइन्। काठमाडौं महानगरभित्रका विपन्न, गरिव महिलालाई छानेर उनीहरुको आर्थिक सुधारमा जोड दिने योजना सुनाउँदै सिंहले काठमाडौं महानगरपालिकामा विभिन्न काम गरेर बस्ने विदुर पुरुषहरुका लागि पनि भत्ता उपलब्ध गराउने बताइनन्। काठमाडौं महानगरपालिकाका हरेक वडामा वृद्धवृद्धाका लागि जेष्ठ नागरिक केन्द्र र स्वास्थ्य संस्था स्थापना गर्ने, सुविधा सम्पन्न महानगरीय अस्पताल खोल्ने र त्यसमा काठमाडौंवासीलाई विशेष छुट दिनुका साथै विपन्नहरुलाई निःशुल्क उपचार गर्ने वातावरण मिलाउने बताइन्। महानगरको मेयरमा जित निकालेको खण्डमा बालकालिकाका लागि विभिन्न कार्यक्रम ल्याउने, युवाहरुलाई रोजगार दिने र योग्यताअनुसार उन्नतीको कदम चाल्ने सिंहको योजना छ। उम्मेदवार सिंहले काठमाडौं ऐतिहासिक शहर भएकोलले आफूले जितेपछि विश्वमै उदाहरणीय महानगर बनाउने दाबी गरिन्। गठबन्धनबाट महानगरको उपमेयरमा भने नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार दर्ता गराउने भएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update