हिमाल दैनिक
अध्यक्ष ओलीले समेत ‘गालीगलौजको पुलिन्दा’ भन्ने कांग्रेसको चुनावी संकल्पपत्र कस्तो होला?
FRPkHmdacAAwqHX
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका कटु आलोचकहरुले उनलाई ‘उखान र गाली शिरोमणी’को उपनाम दिने गर्दछन्। तर, उनै ओलीले सत्तारुढ नेपाली कांग्रेसको स्थानीय चुनावको पूर्वसन्ध्यामा सार्वजनिक भएको चुनावी संकल्पपत्रलाई गालीगलौजको पुलिन्दा भन्न भ्याएका छन्। मंगलवार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा कम्युनिष्ट नेता मनमोहन अधिकारीको २३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दाबी गरे। दुई दिनअघि पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित मस्यौदा समितिले तयार पारेर सार्वजनिक गरिएको कांग्रेसको संकल्पपत्रप्रति लक्षित गर्दै उनले भने, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक बाहिर छ। भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ।’ संकल्पपत्रमा विपक्षी दलहरुप्रति विशेषगरी एमालेप्रति लक्षित गर्दै लेखिएको धारणामा असहमति जनाउँदै उनले भने, ‘यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ। नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए। हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा। कुनै गन्तव्य हुँदैन। उत्ताउलो विकास। एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे। हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको। के भएको नेपाली काँग्रेसलाई?’ संकल्पपत्र तयारी समितिको सामूहिक कार्यबारे संकेत गर्दै उनले थपे, ‘एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो। पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो? सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन। राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ । राष्ट्रपतिमाथि हमला गरेको छ। नेपाली काँग्रेसलाई सन्चो छ कि छैन? एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ। राजनीतिक, संवैधानिक, कानूनि कुरा गर्नुप¥यो नि। अधिकांश घोषणापत्र त्यस्तै छ। अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ। संविधानबाट टिपदै राख्दै गरेको छ।’ कांग्रेसको संकल्पपत्र एमालेको घोषणापत्रको नक्कल भएको दाबी गर्दै उनले भने, ‘अर्को पक्ष पनि छ। एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ। चोर विद्यार्थीले चिट चारेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्के अक्षर भएका छन्। त्यसमा एमालेमाथि तथानाम गाली, संविधानका केही कुराको उतार, अर्को एमालेको कपी। त्यही पनि कुशल विद्यार्थीको चिट चोराइ छैन। लद्दु विद्यार्थीको लद्दु चिट चोराइ छ। हेर्दाहेर्दै काँग्रेस के भएको? काँग्रेसँग राजनीति छैन, सकियो? देश विकसको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो। गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ। केही छैन अहिले काँग्रेससँग?’

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन–०७९ संकल्प पत्र सार्वजनिक

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाउँदै उनीसँग सुशासन वा शासन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि कुनै योजना नभएको दाबी गरे। सत्ता गठबन्धनले चुनावमा गरेको तालमेलप्रति असन्तुष्ट बनेका ओलीले काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताए। कांग्रेस नेतृत्वले सत्ताका लागि गठबन्धन गरेको आरोप लगाउँदै भने, ‘उसले सत्ता बुझ्छ र फेरि पनि सत्ता टिकाइराख्न यो गठबन्धन नामको कुहिएको ढोडको लौरो आवश्यक छ भन्ने ठान्छ। यो कुहिएको ढोडको लौरो यही ३० गतेको चुनावमा खलास हुन्छ। त्यसपछि काँग्रेस हातको लौरो त छैन त्यस हालतमा हुन्छ।’ अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई केन्द्र भएको दाबी गरे। स्थानीय चुनावको विषयमा पार्टीको घोषणापत्र नबनाएको विषयप्रति लक्षित गर्दै उनले ‘नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ। हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो। यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि। यस्तै माओवादी एउटा सेन्टर हो। त्यसले चुनाव घोषणापत्र नै निकालेन। माओवादीको चुनाव घोषणापत्र छैन। कांग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ।’ एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउँदै उसले हतारमा घोषणापत्र निकाले पनि त्यसमा केही तुक नरहेको दाबी गरे। अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने षडयन्त्र भइरहेको तर, नेकपा एमालेले चुनाव सार्न नदिने दाबी गरे। साथै उलने वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।  
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update