हिमाल दैनिक
कांग्रेसले बरु धोका खाएको छ, अरु कसैलाई धोका दिएको छैन र दिन्न पनिः देउवा
279971475_3072055006381059_2815989452429175294_n
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी गठबन्धनका सहयात्री दललाई कुनै हालतमा धोका दिन नहुने बताएका छन्। वैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा मोरङको विराटनगर महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न बुधबार पुगेका देउवाले घुमाउरो पालामा गठबन्धनमा रहेका दलमध्येबाट कांग्रेसले धोका खाएको भएपनि कांग्रेसले कसैलाई धोका नदिने र धोकेबाजको पगरी नगुथ्ने बताए। पार्टीकै एक पक्षले चुनावी तालमेलको विषयमा विरोध गरिरहकै बेला सभापति देउवाले अहिलेकोे गठबन्धन सरकारका सहयात्री दलहरुबीचको चुनावी तालमेल र गठबन्धन राष्ट्रिय आवश्यकता अनुसार गरिएको दाबी गरे। अघिल्लो संसदीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको तालमेलपछि आएको परिणामका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछिको अवस्थामा देश ओलीको कब्जामा गएको र आफूले नचाहँदा नचाहँदै पनि उनलाई हटाउन आफू सरकारको नेतृत्व लिन पुगेको बताए। ओली सरकारको पालामा ओली र सरकारको विरुद्ध कसैले बोल्न र लेख्न नसक्ने अवस्था रहेको स्मरण गर्दै अहिले त्यो भय र त्रासको वातावरण नरहेको दाबी िपनि उनले भने। उनले भने, ‘ओलीको पालामा सबै मानिस र पत्रकारहरु उनको खिलाफमा बोल्न र लेख्न डराउँथे। आज त्यो डर त्रास र भय छैन, बरु मेरै खिलाफमा लेख्ने र बोल्ने गरिरहेका छन्।’ देउवाले केन्द्रमा सरकार गठनका लागि भएको गठबन्धन अहिले स्थानीय तहको निर्वाचनमा पनि गरिएको विषयको बचाउ गर्दै यो गठबन्धन लोकतन्त्रमा संविधान र त्यसले तय गरेको संघीयताको संरचनालाई स्थानीय तहसम्मै संस्थागत गर्ने उद्देश्यले गरिएको दाबी पनि गरे। विराटनगरको ऐतिहासिक पक्षसँगै उक्त शहर संस्थापक नेता बीपी कोइराला र उनका पिता कृष्णप्रसादको कर्म थलो भएको बताउँदै उक्त शहरको विकास र गरिमा बढाउन मेयर पदका प्रत्यासी नागेश कोइराला र उनको टिमलाई विजयी गराउन पनि आग्रह गरे। विगतमा देउवा निकट रहेर पार्टीमा क्रियाशील भएका कोइरालालाई अघिल्लो स्थानीय निर्वाचनमा मेयर र प्रदेश सभाको चुनावमा प्रदेश सदस्यको टिकट नदिएर अन्यायमा पर्दा आफूसँग रिसाएको भएपनि अहिले टिकट दिएर न्याय गरेपछि उनी आफूसँग पनि खुशी भएको बताए।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update