नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनप्रति जनताले देखाएको साथ र समर्थनकै कारण आफूले ८२ प्रतिशत मतका साथ आफूले पार्टी सभापतिमा निर्वाचित भएको भन्दै गठबन्धनको बचाउ गरेका छन्।
आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिएका प्रत्यासीको पक्षमा मत माग्न भरतपुर पुगेका प्रधानमन्त्री देउवाले गठबन्धनकै साथ र समर्थनमा आफू प्रधानमन्त्री बनेको र त्यही गठबन्धनप्रति मेचिदेखि महाकालीसम्मका ८२ प्रतिशतको विश्वासले आफू सभापतिमा निर्वाचित भएको दाबी गरे।
‘८२ प्रतिशत जनता र जनप्रतिनिधिको मत र विश्वास जुन पाएँ त्यो गठबन्धनप्रतिकै साथ र समर्थन भएर मैले जितेको हुँ। त्यो विश्वास गठबन्धनप्रतिकै समर्थन हो,’ उनले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुखको पक्षमा मत माग्न भरतपुर पुगेका देउवाले अघिल्लो कार्यकालमा भरतपुरको मेयर भएर काम गर्दा कुनै बेरुजु नराखेर रेकर्ड कायम गरेको भन्दै प्रसंशा गरे।
साथै देउवाले अधिकांश समय रेणु दाहालको प्रसंशा गर्दै उनले भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम अघि बढाउने निर्णय चानेचुने काम नभएको बताए।
दाहाललाई प्रमुख पदमा समर्थन गर्ने कांग्रेसको निर्णयको विरुद्धमा उभिएका चितवनका कांग्रेस कार्यकर्तालाई सम्झाउँदै देउवाले भने, ‘रेणु दाहाल जस्तो काम गर्ने मानिस मेयर नभए को हुन्छ?’
दाहालले अहिले नै चुनाव जितिसकेको बताउँदै उनी जस्तो व्यक्तिलाई हुँदैन भनेर विरोध गर्नेहरुप्रति प्रश्न गर्दै भने, ‘यस्तो काम गर्ने व्यक्तिलाई पनि हरायो भने भरतपुरका जनताले के भन्लान?’
दाहाल जस्तो काम गर्ने व्यक्तिलाई सबैले मिलेर जिताउन र गठबन्धन बलियो बनाउन आग्रह गर्दै जसले गठबन्धनको विरुद्ध कुरा गरिरहेका छन् उनीहरु गठबन्धन भत्काएर अस्थिरता निम्त्याउने षडयन्त्रमा लागिरहेको आरोप पनि लगाए।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय