हिमाल दैनिक
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन्। प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन्। उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताए। महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले केन्द्रदेखि अधिकांश प्रदेश र स्थानीय तहमा जनताको मत लिएर सरकार बनाए पनि देश र जनताका निम्ति केही नगरेर समय मात्रै खेर फालेको आरोपसमेत लगाए। महामन्त्री थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्मको यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो। उसैले आज २०७९ सालको स्थानीय, प्रदेश र संघको चुनाव गराउनु पर्दथ्यो। यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो।’ आसन्न स्थानीय तहको चुनावमा दलहरुले अघिसारिरहेका मुद्दाहरुको विषयमा थापाले यदि नेकपाको सरकारले सफलतापूर्वक सत्ता संचालन गर्न सकेको भए यी विषयवस्तु अहिलेको चुनावी मुद्दाका रुपमै नआउने दाबी गरे। तर, नेकपा डब्बलका अध्यक्ष तथा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले समय खेर फालेको बताउँदै थापाले यत्ति महत्वपूण समय किन खेर फालेको भन्ने कुराको जवाफ नदिइकन र यसका लागि माफी नमागीकन एमालेले मत माग्ने नैतिक अधिकार नभएको बताए। ‘आज मञ्चमा उभिएर नेपाल कम्युनिष्ट पार्टीको नेता, नेपाल कम्युनिष्ट पार्टी भित्रका सबै घटकहरुले र मुलतः नेपाल कम्युनिष्ट पार्टी भित्रको नेकपा एमालेको आजको अध्यक्ष ओलीले ५ वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्याण्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसको लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन,’ थापाले भने। महामन्त्री थापाले अबको ५ वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताउँदै समुन्नत नेपाल निर्माण गर्ने संकल्प कांग्रेसँग रहेको दाबी पनि गरे। महामन्त्री थापाले भने, ‘समुन्नत नेपाल निर्माण गर्ने हामीसँग संकल्प पनि छ। हामीसँग योजना पनि छ। ५ वर्ष यही गरिनुपर्दथ्यो। ५ वर्ष खेर गयो। हामी अबको ५ वर्ष खेर फाल्न चाहँदैनौँ। २०७९ देखि २०८४ सालसम्मको ५ वर्ष यो संकल्प हामी पूरा गर्न चाहन्छौँ। यो वाचा पूरा गर्न चाहन्छौँ। यो संकल्प र वाचा पूरा गरेर हामी गएको ५ वर्षको जुन क्षति छ, त्यो क्षतिलाई पनि पूरा गर्न चाहन्छौँ। हामीले समुन्नत नेपाल भन्ने संकल्प अघि सार्दै गर्दा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोईरालाले सार्नुभएको समुन्नत नेपालको बारेमा सोच्ने हो। त्यसमै टेकेर हामीले हाम्रो अगाडिको यात्रा तय गर्ने कोशिस गर्नेछौँ।’ थापाले यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने ठोकुवा गरे। उनले भने, ‘यो पटक हामीले कांग्रेसका साथीहरुलाई भनेका छौँ, जो वडामा लड्दै हुनुहुन्छ, जो नगरमा लड्दै हुनुहुन्छ, उहाँहरुले चुनावमा आफ्नो श्रोत साधन प्रयोग गर्दा याद गर्नुहोला, अबको ५ वर्ष गएको ५ वर्ष जस्तो हुँदैन। कुनै पनि नेपाली कांग्रेसबाट निर्वाचित भएर आएको साथीले एउटा श्रोत साधन पनि तपाईले अपचलन गर्न पाउनुहुन्न। कुनै पनि ठाउँमा विधि मिचेर तपाईले आफ्नो मनलाग्दी पाराले श्रोत साधनको दुरुपयोग गर्न पाउनुहुन्न। यो सबै कुरामा तपाईको जवाफदेहीता रहनुपर्छ भन्ने ढंगबाट हामीले हाम्रा उम्मेदवारहरुलाई भनिरहेका छाँै।’ महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टीपंक्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको बताए।  
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update