काठमाडौैं महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले आसन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएमा महानगरलाई महाघरमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
सत्तारुढ गठबन्धनको चुनावी तालमेलका आधारमा साझा उम्मेदवार बनेकी सिंहले वर्तमान पार्टी नेतृत्व र गठबन्धनको तर्फबाट संविधान र कानूनमा उल्लेखित समावेसी, समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अनुरुप आफू जस्तो महिलालाई उम्मेदवार बनाएकोमा खुशी व्यक्त गर्दै यसले निर्वाचनमा विजयी सुनिश्चित भएको दाबी गरिन्।
सत्तारुढ गठबन्धनको शीर्ष तहको बैठकपछि भएको निर्णय बमोजिम पाँच दलको तर्फबाट महानगरपालिकाको चुनाव प्रचारप्रसारका लागि राजधानीमा आयोजित संयुक्त सभामा बोल्दै सिंहले यस्तो धारणा राखिन्।
उनले आफू महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएमा महानगरभित्रको पुरातात्विक महत्वका स्थान, धर्म, संस्कृतिको रक्षा गर्नेदेखि समग्र महानगरपालिकाको आर्थिक, सामाजिक र भौतिक विकासदेखि सबै उमेर समूहका नागरिकको हक अधिकार सुरक्षा गर्न प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौं शहरलाई ७७ जिल्लाको साझा सहर भएको बताउँदै उपत्यकाको धर्म, संस्कृतिको रक्ष ागर्ने र काठमाडौंलाई व्यापारिक केन्द्रसँगै विश्वकै पर्यटकीय शहरको रुपमा विकास गर्ने योजना उनले सुनाइन्।
निर्वाचित भएर गएमा आफूले गर्ने संकल्प बताउँदै उनले भनिन्, ‘काठमाडौं महानगरलाई महान घर बनाउँछु, यहाँका सबै नागरिकको शीर निहुँरिन दिने छैन।’
साथै उनले आफ्नो नेतृत्वमा रहेको गठबन्धनका सबै उम्मेदवारलाई मत दिएर विजयी बनाउन पनि आग्रह गरिन्।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय