राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक संसदीय गणतन्त्रको रक्षार्थ गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुको विकल्प नभएको भन्दै काठमाडौं महानगरपालिकाको मेयर पदमा कांग्रेसकी प्रत्यासी सिर्जना सिंहलाई जिताउन अपिल गरे।
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा काठमाडौं महानगरपालिकाको चुनाव प्रचारप्रसारका लागि आयोजित संयुक्त सभामा बोल्दै नेता केसीले अझै पनि गठबन्धनकारी शक्ति भन्दा प्रतिगमनकारी र प्रतिगामी शक्ति बलियो रहेको भन्दै यसमा सजग रहन आग्रह गरे।
अघिल्लो संसदीय चुनावका समयमा कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले लोकतान्त्रिक शक्तिसँग गठबन्धन गर्न आग्रह गर्दा नमानेर एमाले, माओवादीसँगको संयुक्त गठबन्धनमा गएको स्मरण गर्दै त्यसपछि बनेको दुई तिहाइ नजिकको सत्ता नेतृत्वले संविधान, लोकतन्त्र र संसदीय व्यवस्थामाथि धावा बोलेको आरोप उनले लगाए।
तत्कालिन वामगठबन्धनका नेता केपी शर्मा ओलीले संसद र गणतन्त्रमाथि धावा बोलेर प्रतिगमनको बाटो रोजेपछि आफ्नो दलले तत्काल त्यसको विरोध गरेको स्मरण गर्दै प्रतिगमनलाई सच्याउन ०१७ सालको स्थिति आउन नदिन वाम–लोकतान्त्रिक गठबन्धनको टुंगोमा आफू पुगेको बताए।
उनले प्रजातन्त्र, गणतन्त्र, संविधान जोगाउँन नै वर्तमान गठबन्धनको जन्म भएको बताउँदै हिँजोका प्रतिगमनकारी र प्रतिगामी तत्वले गठबन्धन र आफ्नो पार्टीविरुद्ध प्रहार गरिरहेको आरोप लगाए।
लोकतान्त्रिक बहुदलीय शासन व्यवस्था ल्याएपछिको अवस्थामा पनि जनताका आशा पूरा गर्न मात्र होइन, राजधानी भित्रैका समस्या समाधान हुन नसकेको अवस्थामा उपत्यका बाहिरका स्थिति झन भयावह रहेको बताए।
उनले गठबन्धनको बचाउँ गर्दै गठबन्धन भनेको सबै कुराको मिलोमतो नभएर नमिलेका कुरा बाहेक मिलेका कुरामा सहकार्य गर्नु भएको बताउँदै उनले आफ्नो क्षमता अनुसार उठाएका उम्मेदवारलाई गठबन्धनले साथ दिनु पर्ने बताए।
‘गठबन्धन भन्दा अझै पनि प्रतिगमनकारी शक्ति बलियो छ। हेक्का राखौँ, प्रतिगमनकारी शक्ति समाप्त भएको छैन, त्यसैले संसदीय गणतान्त्रिक शासन व्यवस्था बचाउन गठबन्धन एक हुन जरुरी छ,’ उनले भने।
आफ्नो दलले प्रतिगमनकारीलाई कहिँ कतै सहयोग र सहकार्य नगरेपनि गठबन्धनका केही दलले एमाले र राप्रपासँग चुनावी तालमेल गरेकोमा रोष प्रकट गरे।
स्थानीय तह निर्वाचनमा भएको चुनावी गठबन्धन परिक्षणको समय भएको बताउँदै यो गठबन्धनलाई सफल बनाउनुको विकल्प नभएको उनले बताए।
विपक्षीले संसद चल्न नदिएको र अदालत पनि प्रभावित भइरहेको अवस्थामा देशभरी नै गठबन्धनका उम्मेदवारलाई मत दिएर प्रतिगमनकारीलाई पराजित गर्नु अहिलेको गठबन्धनको दायित्व भएको बताए।
साथै उनले राजनीतिक दलदेखि आम जनतामा तोकिएको समयमा आवधिक निर्वाचन हुन्छ वा हुन्न भन्ने आशंका छाएको बेला अहिले गठबन्धन सरकार र निर्वाचन आयोगले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन लागेकोमा खुशी व्यक्त गरे।
‘चुनावमा कसले जित्छ वा कसले हार्छ भन्ने कुरा ठूलो होइन, ठूलो कुरा भनेको जनताको अभिमतबाट आफ्ना जनप्रतिनिधिमार्फत शासन सत्ता संचालन हुनु नै हो, जुन पाँच दलीय गठबन्धन र निर्वाचन आयोगले कटिबद्धता देखाएको छ,’ उनले भने।
काठमाडौं महानगरपालिका भनेको देशको सबैभन्दा महत्वपूर्ण ठाउँ हो, जसले मुलुकभरी मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बेग्लै सन्देश दिने हुँदा यसका लागि सिर्जना सिंहलाई उम्मेदवार बनाएर राम्रो काम गरेको उनले बताए।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय