हिमाल दैनिक
सिर्जना र रेणुको विरोध गर्नेहरुलाई देउवाको प्रश्नः कसैको श्रीमती वा छोरी हुनुमा उनीहरुको के दोष?
RS_KTM_PMDEUBA
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहसँग विवाह गर्नु सिर्जना सिंहको र प्रचण्डको छोरी भएर जन्मनुमा रेणु दाहालको गल्ती हो भनि प्रश्न गरेका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौैं महानगरपालिकामा मेयर पदका प्रत्यासी बनेकी सिंहको पक्षमा मत माग्न आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुगेका देउवाले सिंहको विरुद्धमा चलिरहेको हल्ला र विरोधको प्रतिवाद गर्दै यस्तो प्रश्न गरेका हुन्। ‘अहिले काठमाडौंमा सिर्जना सिंह प्रकाशमानको श्रीमती र अर्को भरतपुरकी रेणु दाहाल प्रचण्डको छोरीको विषयमा कुरा गर्दा को कसको परिवारसँग नाता जोडिन्छ र को कहाँ जन्म हुने भन्ने कुरामा सिर्जना र रेणुको गल्ती हो र?’ भनि देउवाले उनका आलोचकहरुलाई प्रश्न गरे। ‘सिर्जनालाई उनका आमा बाबुले प्रकाशमानसँग बिहे गरिदिए, विचरा उनको के दोष? प्रकाशमानको श्रीमती हुनु के दोष?,’ देउवाले सिर्जना सिंह योग्य महिला हुन् भन्दै यो राजधानीमा सिर्जना र भरतपुरमा रेणुले हार्नै नहुने बताए। दुबै सक्षम र योग्य महिला रहेको बताउँदै उनीहरुले हार्नै नहुने भन्दै यदी सिर्जनालाई मत नदिएर हराएमा काठमाडौंवासीप्रति दुनियाँले के भन्ला भनि प्रश्न समेत गरे। काठमाडौंको फोहोर व्यवस्थापनका लागि ६ महिनाभित्र गराउने बाचा पूरा गर्न सरकारको पुरा सहयोग रहने पनि उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देशमा भय, त्रास र डरको आतंक भएपनि अहिले त्यो नभएको दाबी देउवाले गरे। साथै अघिल्लो चुनावमा कांग्रेसले एक्लै चुनावी मैदानमा जाने निर्णय गर्दा हारेको मात्र नभई प्रचण्डले ओलीसँग मेलेर जान खोज्दा दुःख पाएको देउवाले स्मरण गरे। ‘अघिल्लो चुनावमा हामीले पनि एक्लै जाने रहर गर्यौँ र हार्यौँ, प्रचण्डजीले पनि ओलीसँग मिलेर जाने रहर गर्नु भयो र कत्रो दुःख पाउनु भयो,’ उनले भने। गठबन्धनको विषयमा पार्टीभित्रबाट भएको विरोधको प्रतिवाद गर्दै देउवाले भर्खर सम्पन्न कांग्रेसको महाधिवेशनले गठबन्धनको विषयमा कुनै विरोध नगरेको मात्र होइन, गठबन्धनको पक्षमा समर्थन जनाएको र केन्द्रीय समितिले पनि यसको आवश्यकतालाई जोड दिएको भन्दै अहिले फेरि विरोध गर्नु उचित नभएको बताए। ओलीको कुशासनबाट मुक्ति पाउनु पर्छ भनि प्रचण्ड, माधवदेखि सबैले भनेपछि आफू प्रधानमन्त्री बनेको बताउँदै देउवाले अहिलेको संविधान रहेसम्म कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने हुँदा गठबन्धन र सहकार्यको संस्कृति राजनीतिमा जरुरी भएको बताए। साथै उनले चितवनमा रेणुलाई अघि सार्न दाहाल अनिच्छुक देखिएजस्तै काठमाडौंमा प्रकाशमान सिंहले पनि श्रीमतीलाई अघि सार्दा फेरि विरोध गरेर हराउने हुन् कि भनि डराएको उल्लेख गर्दै यसका बाबजूद आफूहरुले सवल र सक्षम महिलाका रुपमा दाहाल र सिंहलाई अघि सारेको बताए।  
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update