सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दावी गरेका छन्।
प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली सफल नभएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताएका हुन्।
सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले ओलीले नचाहेपनि लोकतन्त्रलाई संस्थागत गरी संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे।
उनले सत्तारुढ गठबन्धनमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको दाबी समेत गरे।
प्रवक्ता महतले भने, ‘केपी ओली सबै कोणबाट असफल भईसकेका छन्। अव के मुखले उहाँले भोेट माग्ने? पाँच वर्षका लागि निर्वाचित सरकारले साँढे ३ वर्षमै दुई पटक हात उठायो। उहाँले बर्बाद गरेपछि सरकारको नेतृत्व कांग्रेसले लिनुप¥यो। अब उहाँले सुशासनका कुरा, कानुनी शासनको कुरा, संविधानको कुरा, विकासको कुरा, भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्छ?’
ओली सत्तामा छँदा देश र जनता कोभिड महामारीको संकटमा पर्दैगर्दा सरकारको गतिविधिप्रति कटाक्ष गर्दै महतले कमिशनको पर्खाईमा रहँदा कोभिडले जनताको बेहाल भबनाएको आरोप लगाए।
‘अहिले व्यवस्थापन भएको छ। कमिशनका काण्ड नियन्त्रण गरिएको छ। अब हामीले गठबन्धनलाई अगाडि बढायौँ। यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नु भएको छ। हो, उहाँ त अवश्य पनि नचलोस् भन्ने चाहनुहुन्छ। हामीलाई सिन्सियर छौं। काँग्रेस, यो लोकतन्त्रलाई बलियो पार्न, संविधानलाई बलियो पार्नका लागि यो सहयात्रा गर्न हामी तयार छौं। हामीलाई विश्वास छ–हाम्रा सहयात्री दलहरु पनि त्यही मान्यता अनुसार उहाँहरु ओलीतिर जानु हुन्न। र यो लोकतान्त्रिक यात्रामा अगाडि बढनुहुनेछ भन्ने हामीलाई लागेको छ।’
विगतमा प्रचण्ड बहुमतको सत्ता संचालनमा असफल भएका ओलीसँग फेरि मत माग्ने कुनै आधार नभएको दोहोर्याउँदै उनले भने, ‘स्थानीय निकायकै कुरा गर्ने हो भने पनि १० वटा उत्कृष्ट कार्य सम्पादन मध्ये ६ वटा हाम्रो उत्कृष्ट छ। बाँकि ३ वटामा पनि अन्य सहयोगी दलहरु एउटा मात्रै उहाँको उत्कृष्ट देखिएको छ। स्थानीय कोणबाट हेर्दा पनि हामीनै बलियो छौं। राष्ट्रिय कोणबाट हेर्दा पनि नेपाली कांग्रेसको नेतृत्व नै ठिक देखिन्छ। हामी जब्बरजस्ती तन्त्र चल्न दिँदैनौं। कहीँ पनि नेपाली
कांग्रेसका कार्यकताहरुले निर्वाचनको दौरानमा आक्रमण गरेका छैनन्। हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं। हामी सत्ताको दूरुपयोग कहिल्यैं गर्दैनौं। उहाँहरुको जस्तो आफ्नो हातमा परेपछि पुलिस प्रशासन त्यही बाटोमा हुनुहुन्थ्यो उहाँहरु। पार्टी अनुकूल होईन, उहाँको अनुकूल बनाउँदै हुनुहुन्थ्यो। सबैले विना डर मताधिकार प्रयोग गर्न पाउँछन्। तर उल्टो हामीमाथि ठाउँठाउँमा आक्रमण भईरहेको छ।’
प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए।
ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन पनि प्रवक्ता महतले निर्वाचन आयोगको ध्यानाकर्षण गराए।
निर्वाचन आयोगले तय गरेको आचार संहिताका बुँदाहरुको आधारमा सरकारको प्रधानमन्त्री चुनावी सभामा जान नमिल्ने भन्दै कतिपय क्षेत्रबाट कांग्रेस सभापति शेरबहादुर देउवाको चुनावी दौडाहाबारे प्रश्न गरिरहेका बेला प्रवक्ता महतले नेपाली कांग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उनले आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने दाबी गरे।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय