हिमाल दैनिक
फितलो व्यवस्थापनका कारण निर्वाचन कार्यालयमा कर्मचारीको भीड बढ्यो
272623921_10219993590806405_3241871631442715914_n
स्थानीय तह निर्वाचनको लागि व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीहरुको भीड लागेको छ। स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र कर्मचारीका लागि चाहिने सामग्री वितरणका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी कम भएकाले व्यवस्थापन गर्न कठिनाई भएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए। भट्टराईले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानमा खटाउने÷खटिने क्रम शुरु भएको बताए। बुधवारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने जनाइएको छ। निर्वाचनका लागि खटिएका कर्मचारीहरुले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सील, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेको पनि उनले बताए। निर्वाचन सामग्री लिनका लागि पोखराको मुस्ताङ चोकस्थित जिल्ला निर्वाचन कार्यालय र शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भीड लागेको थियो। उनले निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गर्न नजानेको बताउँदै सानो पालिकामा पनि ८ जना कर्मचारी र ठूला महानगरपालिकामा पनि बराबर नै कर्मचारी पठाउँदा काम व्यवस्थापन राम्रो हुन नसकेको भन्दै असन्तोष व्यक्त गरे। त्यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिव २० हजार जना कर्मचारी परिचालित भएको जानकारी दिए। पराजुलीका अनुसार, प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको बताए। गण्डकीमा पोखरा महानगरपालिकासहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा रहेका छन्। गण्डकी प्रदेशमा करिव १८ लाख मतदाता रहेका छन्। कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिकासहित ५ पालिका रहेका छन्। पोखरा महानगरमाभित्र ३३ वडा छन्। कास्कीमा ७२ वडा र ५ पालिकामा ३ सय ७० जना जनप्रतिनिधि चुनिनेछन्। ५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन्। त्यस्तै १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ। पोखरा महानगरपालिकाको मेयरमा मात्र २८ जनाको उम्मेदवारी छ। उपमेयरमा ११ जनाले मनोनयन दर्ता गराएका छन्। २०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update