शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत ऐतिहासिक नगरी कीर्तिपुर नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन्।
शुक्रबार मध्यरातबाट सुरु भएको मतगणनाको अहिलेसम्मको नतिजा अनुसार, कीर्तिपुरका वडा नम्बर १, २ र ३ को गणनामा अहिलेसम्म प्रमुख पदका प्रत्यासी कांग्रेसका राजकुमार नकर्मीले १६१८ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई नेकपा एमालेका केशरत्न बज्राचार्यले ११३१ मतका साथ पछ्याइरहेका छन्।
यसैगरी उपप्रमुख पदमा जनता समाजवादीको तर्फबाट रुख चिन्ह लिएर चुनावमा उत्रिएकी शुभलक्ष्मी शाक्य (सुनीता)ले १५८० मतका साथ अग्रता लिइरहेको बेला एमालेकी महर्जनले १२१८ मतका साथ पछ्याइरहेकी छिन्।
निर्वाचन स्थलमा रहेका मतगणना अधिकारीले दिएको जानकारी अनुसार, वडा अध्यक्षको प्रतिस्पर्धामा अहिलेसम्म तीनवटै वडामा कांग्रेसका प्रत्यासीहरु क्रमशः हिरालाल महर्जन, रुपेश महर्जन र तीनमा सुविन्द महर्जनले अग्रता लिइरहेका छन्।
वडा नम्बर १ मा चार सदस्यका लागि कांग्रेसका प्रत्यासीहरुले नै अग्रता कायम गर्दै जित नजिक पुगिरहेका छन् भने वडा नम्बर २ मा दलित र दुई खुला सदस्यमा कांग्रेस र एमालेका प्रत्यासीबीच तिब्र प्रतिस्पर्धा चलिरहेको छ।
कीर्तिपुर नगरपालिकाको अहिलेसम्मकै चुनावमा सधैँभरी एमालेका उम्मेदवारहरुले लालझण्डा गाढ्दै आएकोमा पहिलोपटक कांग्रेसका उम्मेदवार नकर्मीले आफ्नो पार्टीको झण्डा फहराउने अनुमान प्रारम्भिक नतिजाले देखाएको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय