कीर्तिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका प्रत्यासी राजकुमार नकर्मीले आफ्ना प्रतिद्वन्दीलाई झण्डै हजार मतको अन्तरले पछि पारेका छन्।
शुक्रबार रातीदेखि सुरु भएको मतगणनाको पछिल्लो अपडेट अनुसार, हालसम्म गणना भएको ५ हजार ८ सय ९८ मतमा कांग्रेसका उम्मेदवार नकर्मीले २६ सय २० मतका साथ अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका केशरत्न बज्राचार्यले १६ सय ५ मत ल्याएर पछ्याइरहेका छन्।
त्यसैगरी उपप्रमुख पदका लागि कांग्रेसको रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी जनता समाजवादी पार्टीकी उम्मेदवार शुभलक्ष्मी शाक्य (सुनीता)ले २४ सय १५ मत प्राप्तगरी अग्रता लिइरहेकी छिन्। उनलाई एमालेकी विन्दु महर्जनले २३ सय ३ मत ल्याएर पछइरहेकी छिन्।
पंचायतकालदेखि नै लालकिल्लाको रुपमा परिचित कीर्तिपुरमा नेकपा माओवादीका शिवशरण महर्जले १४ सय ८ मत ल्याएर तेस्रो स्थानमा छन् भने उपप्रमुखमा सुशिला बस्नेतले ७ सय ७ मत पाएकी छिन्।
एमालेको बलियो संगठन र जनतामा पकड रहेको मानिँदै आएको कीर्तिपुरमा पहिलोे पटक कांग्रेसले कीर्र्तिपुरलाई कम्युनिष्टको पकडबाट खोस्ने लगभग पक्कापक्की भएको छ। विगतमा कम्युनिष्टहरुको पकड भएको कीर्तिपुरमा कांग्रेसले अग्रता लिइरहँदा एमालेभित्रैको आन्तरिक विवादले पनि ठूलै साथ दिएको स्थानीय बासिन्दाको बुझाइ छ।
जसको कारण प्रमुख पदमा बज्राचार्यले पाएको मत भन्दा उपप्रमुख पदमा करिब ७ सय मतको अन्तर देखिएपछि एकथरी एमाले नेताहरुले प्रमुख पदका प्रत्यासी बज्राचार्यलाई अन्तरघात गरेको आरोप लाग्न थालेको छ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय