हिमाल दैनिक
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने धारणा राखेका छन्। मंगलवार २९औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समिक्षा गरिने बताए। स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको भन्दै उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआउनुमा गठबन्धनका घटकहरुले नै आफुहरुसँग सहकार्य गर्न नचाहेको हो कि भन्ने आशंका व्यक्त गरे। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच देशका अधिकांश निर्वाचन क्षेत्रमा भएको चुनावी तालमेलका बाबजूद नेपालको पार्टीले अपेक्षाकृत परिणाम नपाएपछि उक्त पार्टीभित्र साझेदार दलहरुको विषयमा प्रश्न उठ्न थालेको छ। नेपालले भने, ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भिर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामी निर्वाचनको पनि गम्भिर समिक्षा गर्नेछौँ। गठबन्धनको पनि समिक्षा हामी गर्नेछौँ। समिक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी ग¥यौँ र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो। त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला। संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौँ। सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौँ। झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ।’ कतिपय ठाउँहरुमा राम्रै अवस्था पनि देखिएको बताउँदै अझैपनि कतिपय ठाउँहरुमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको गुनासो उनले गरे। ‘गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन्। हाम्रा आफ्नै कुराहरु होलान्। अरुका आफ्नै गुनासाहरु होलान्। जे सुकै गरेपनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ। यो पार्टीलाई जनताको माझमा क्रियाशिल गर्नुपर्ने छ,’ नेपालले भने। पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशिल गराउन नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरे।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update