हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको बजेट अधिवेशनमा पनि आफ्नो अवरोधलाई निरन्तरता दिने भएको छ। अघिल्लो आर्थिक सुरुवातमा संर्वोच्च अदालतको आदेशले विघटित संसद व्यूँतिएसँगै उत्पन्न नयाँ परिस्थितिको सामना गर्ने नाउँमा संसदबाट नियमित बजेट पारित गर्नेदेखि कुनै पनि विधेयक पास नगर्ने नगराउने रणनीति अनुरुप सदनमा नाराबाजी गर्दै आएको एमालेले आजदेखि सुरु हुने बजेट अधिवेशनमा पनि सोही कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो। मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको भन्दै सदनको अवरोध जारी रहने संकेत दिए। उनले संसदमा विना अवरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर, छलफलमा रहेको जानकारी दिए। उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणामा आइरहेकोले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्न पनि सकिने बताए। ‘हामी अहिले नयाँ निस्कर्षमा पुगिसकेका छैनौँ। तर हामी छलफलमा पनि छौँ। स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ। जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निस्कर्षमा पूर्णता आउन बाँकी छ। यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ। तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भने। उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको बिरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले काम गर्नु आश्चर्य भएको बताए। सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गरे। ‘स्थानीय निर्वाचनको बारेमा म प्रष्ट छु। नेकपा एमाले जो प्रमुख प्रतिपक्ष हो, राज्यको अभिन्न अंग हो। संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। तर आश्चर्यको कुरा सत्तामा रहेका साथीहरुले प्रमुख प्रतिपक्षको बिरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले जुन काम कारबाही गर्नुभयो, त्यो आश्चर्यको कुरा हो। त्यो कतै भएको छैन, यहीँ नेपालमा मात्र भएको छ। अहिले हामीले गरेको कामबाट आएको परिणामबाट हामी उत्साहीत छौँ। हामीलाई सबै मिलेर एक्ल्याउने प्रयास भएपनि हामीले दृढतापूर्वक सामना गरेर आएको परिणामबाट म उत्साहीत छु। जे भएको छ त्यो गलत भएको छ। गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ। मूल्य, मान्यता विपरित भएका गठबन्धनहरु देश र जनताको हीतमा हुँदैनन् । त्यही सम्बन्धित पार्टीकै हीतमा पनि हुँदैन। यसै पटक पनि जनताले गरेको निर्णयमा कता कता त्यसको झलक देखिन्छ,’ उनले भने। त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताउँदै यसका लागि सत्ता गठबन्धनले गरेको राज्य संयन्त्रको चरम दुरुपयोग नै मुख्य आधार भएको आरोप लगाए। प्रमुख सचेतक भट्टराईले भने, ‘वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। केही ठाउँ बाहेकका अधिकांश स्थानको मत परिणाम आउने क्रममा नै छ। नेकपा एमालेले अपेक्षा गरेजस्तो परिणाम अलि आएको छैन। हाम्रो बिरुद्धमा गठबन्धनको र राज्य संयन्त्रको चरम दुरुपयोग गरेर हामीबिरुद्ध दुई वटा घेराबन्दी गरिएको थियो। त्यसबा बाबजुद पनि हाम्रो ठिकै रिजल्ट आइरहेको छ। त्यसको समीक्षा हुनेछ,’ उनले भने। प्रमुख सचेतक भट्टराईले स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमका घेराबन्दी गर्दा पनि नतिजा राम्रो आईरहेको दाबी पनि गरे।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update