हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीचको चुनावी तालमेललाई स–साना ढक र आफ्नो दललाई सिंगै क्वीन्टिलको रुपमा चित्रित गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नौ बोली भारी परेको छ।
विपक्षी गठबनधनको विरोध गर्ने क्रममा ओलीले व्यक्त गरेको अभिव्यक्तिलाई एकहप्ता नबित्दै उनकै गृह नगर दमकमा स–साना ढकको प्रहार पनि क्वीन्टिलमाथि कति भारी हुँदोरहेछ भन्ने छर्लङ्ग पाििरदिएका छन्।
ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामकुमार थापाले पाँच दलीय सत्तागठबन्धनको साथ लिएर ओलीको किल्ला भत्काइदिएनन् मात्र उनको अभिव्यक्तिलाई गलत नै सावित गरिदिए।
राप्रपाका तर्फबाट मैदानमा उत्रिएका थापा नगरप्रमुखमा निर्वाचित भए भने उनीसँगै तालमेल गरेको नेपाली कांग्रेसका रेगिना भट्टराई उपप्रमुखमा निर्वाचित भइन्।
प्रमुख पदका लागि थापाले १७ हजार ५२५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेको गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरिन्।
थापा र अधिकारीको मतान्तर ४५३ रहेको छ। अधिकारी विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही नगरको उपप्रमुखमा निर्वाचित भएर एक कार्यकाल पूरा गरेकी हुन्।
उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६ हजार ९६६ मत प्राप्त गर्दा एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत ल्याएर पराजित भइन्।
उपप्रमुखमा भट्टराई र खनालको मतान्तर ३९२ छ। अन्ठाउन्न हजार १७६ मतदाता रहेको नगरमा १८ हजार ७१६ पुरुष र २१ हजार १७९ महिला गरी ३९ हजार ८९५ जनाले मतदान गरेका थिए ।वडाध्यक्षमा १ मा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भएका छन्।
त्यस्तै वडा नं ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र १० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित भएका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय