तनहुँको व्यास नगरपालिकाको हालै सम्पन्न निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले आफ्ना प्रतिद्वन्द्धी दीपकराज जोशीलाई ४ सय ४४ मतले पछि पार्दै जितमा अग्रसर भइरहेका छन्।
आइतबार साढे ४ बजेसम्मको मतगणनामा कांग्रेस उम्मेदवारले ११ हजार २४ मतका साथ अग्रता लिइरहँदा नेकपा एमालेको साथ र समर्थनमा चुनावी मैदानमा उत्रिएका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी पुत्र दीपकले १० हजार ५ सय ५२ मत पाएका छन्।
वैशाख ३० गते रोकीएको एउटा बुँथमा हालै सम्पन्न निर्वाचन पश्चात शुक्रबार रातीदेखि सुरु भएको मतगणनाको सुरुवाती रुझानमा दीपकले अग्रता लिएपनि मतगणनाको निरन्तरतासँगै न्यौपानेले मत बढाउँदै शनिबार साँझैदेखि झिनो मतले अग्रता लिन सफल भएका थिए।
दमौलीबाट एक नेताले दिएको जानकारी अनुसार, खसेको कुल ३० हजार ९५ मतमध्ये अब २२ सय मत गणना गर्न बाँकी छ जसमा अधिकांश वडाहरु कांग्रेसको पकड भएका कारण न्यौपाने दोस्रो कार्यकालका लागि व्यास नगरपालिकाको प्रमुख हुनेमा ढुक्क भएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय