हिमाल दैनिक
पुनः निर्वाचित भएपछि रेणुले भनिन्ः भरतपुरवासीको भावना बुझेर काम गर्छु
NA_Chitwan-_5637
चितवनको भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्। मंगलबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार, दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गर्दै भरतपुरको मेयरमा पुनःनिर्वाचित भएकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे। गठबन्धनको विषयलाई लिएर विरोधमा उत्रिएको कांग्रेसका केही जिल्लास्तरिय नेता कार्यकर्ताको साथ र समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणुको समर्थनमा पार्टी नेतृत्वले गरेको निर्णयको विरोधमा चितवनभित्रै विवाद भएपनि पौडेलको उम्मेदवारीले दाहाललाई अन्ततः चुनावी नतिजा पक्षमा पार्न सहज बनाएको हो। दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन्। भरतपुरको २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ। वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। यसैबीच नवनिर्वाचित प्रमुख दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउँदै महानगरवासीलाई निराश हुन नदिने बाचा गरेकीछिन्। स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गर्ने बताइन्। उनले भनिन्, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु। स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु।’
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update