हिमाल दैनिक
सरकारले नेपाली कांग्रेसका संस्थापक नेता तथा पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघका प्रथम सभापति कृष्णप्रसाद भट्टराईको सम्मानमा कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आ.व. २०७९÷८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने घोषणा गरिन्। यसअघि पनि भट्टराईको नाममा प्रतिष्ठान संचालन गर्ने भनिएपनि वैचारिक मतभेदको कारण विगतको सरकारले उक्त विषयलाई ओझेलमा पारेको थियो। त्यस्तै हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायिक बनाइने भएको छ। उनले नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न प्रवद्र्धन गरिने पनि बताइन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने छ। हुलाक सेवालाई समय अनुकुल, आधुनिक, प्रतिस्पर्धी र व्यवसायिक बनाइने छ । चलचित्र मार्फत् अन्तर्राष्ट्रिय स्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता एवं सुन्दरताको प्रचार प्रसार गरिनेछ । नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न प्रवद्र्धन गरिनेछ।’ राष्ट्रपति भण्डारीले नेपालमै सुरक्षण मुद्रणको काम सुरु गर्न आधुनिक प्रविधिको उपयोग र क्षमता विस्तार गरिने पनि उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update