जीवनको लामो र उर्जाशील पत्रकारितामा विताएर करिब ५ वर्षअघि राजनीतिमा होमिदै विवेकशील साझा पार्टी गठन गरेका रवीन्द्र मिश्र ५ वर्षमै पार्टी नेतृत्वबाट पाखा लागेका छन्।
संविधान सभाले नयाँ संविधान जारी गरेलगत्तै सम्पन्न भएको ०७४ को स्थानीय निर्वाचनपूर्व बिबिसी नेपाली सेवाको पत्रकारिताबाट विदा भएर राष्ट्रिय राजनीतिमा स्थापित हुने धोकोले आफ्नै नेतृत्वमा विवेकशील साझा पार्टी निर्माण गर्दै पहिलो स्थानीय तहको निर्वाचनबाट चर्चामा आएका मिश्र हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामबाट निराशः मात्र बनेनन्, अन्तःत पार्टी नेतृत्वबाटै विदा लिने घोषणा गरेका छन्।
पहिलो स्थानीय तह निर्वाचनका समयमा काठमाडौं लगायत देशका विभिन्न महानगर, उपमहानगर र नगरपालिकामा जबरजस्त मत लिएर वैकल्पिक शक्तिको रुपमा आउने पो हुन् कि भन्ने छनक देखाएका मिश्र गत आम निर्वाचनमा सांसद बन्न भने झिनो मत अन्तरले असफल भए।
त्यहीबीचमा कहिले पार्टी एकीकरण त कहिले विभाजनको अनुभवसँगै कहिले कुन नेतालाई पार्टीबाट निकाल्ने त कहिले आफूलाई कसैबाट निस्कासनको निर्णय गरेर दलीय अनुभव लिएका मिश्रले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षाकृत नतिजा भन्दा पनि नगन्य सफलता समेत हात पार्न नसकेपछि नैतिकताको कारण देखाउँदै पार्टी अध्यक्षबाट राजीनामाको घोषणा गरे।
बुधबार एक विज्ञप्ति जारी गर्दै मिश्रले स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको बताउँदै उक्त परिणामको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’ उनले राजीनामा पत्रमा भनेका छन्। साथै उनले पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन्।
अघिल्लो निर्वाचनमा काठमाडौैं महानगरपालिकामा पुराना राजनीतिक दलका उम्मेदवारलाई समेत सातो जानेगरी मत हाँसिल गरेर हौसियएका मिश्र अहिले झिनो मतमै चित्त बुझाउनु पर्ने अवस्थामा पुगेपछि नेतृत्वबाट अलग्गिन पुगेका हुन्।
प्रेस विज्ञप्तिस्
विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा
स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।
हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु।
विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।
मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई(तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।
पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ।
नेपालको जय होस्!
रवीन्द्र मिश्र
विवेकशील साझा पार्टी
११ जेठ २०७९
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय