सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको भन्दै गन्थनको कुनै टिप्पणी गर्नुको अर्थ नभएको बताएका छन्।
स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थनमात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए।
शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको संसदमा जारी छलफलमा भाग लिँदै थापाले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमती पनि नभएको जिकीर गरे।
निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाई थियो।
उनले विपक्ष दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने बताउँदै भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिव घन्टौको एउटा लामो गन्थन प्रस्तुत भईसके पछाडि मलाई केही साथीहरुले भन्नु भयो– यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ। मैले साथीहरुलाई भने–प्रश्नको उत्तर हुन्छ। विचारमा टिप्पणी हुन्छ। प्रतिक्रियामा सहमति व्यक्त हुन्छ। असहमती व्यक्त हुन सक्छ। तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन। कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ। त्यसैले यो बेलामा साथीहरुले भन्नु भो–घण्टौ बसेर बोल्ने? मैले भने यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोले पनि हुन्छ । पलेटी कसेर बोलेपनि हुन्छ। एक खुट्टामा टेकेर बोले पनि हुन्छ। अहिले हामीले सुनिदिनु पर्छ। कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने कुरा हो। हामी केवल विचारा मात्रै भन्न सक्छौ, यति हो। निर्वाचन हुँदैन–हुँदैन भनियो। शान्दार ढंगले निर्वाचन भयो। त्यो पनि एकैपटक सम्पन्न भयो।’
महामन्त्री थापाले सरकारले मंसीरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिवद्धता पनि व्यक्त गरे।
स्थानीय तहको निर्वाचन सानदार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसीर भित्र संघ र प्रदेशको चुनाव गराउने बताए। मुलुकमा गम्भिर ढंगले आर्थिक संकेट देखा परेको उल्लेख गर्दै उनले त्यसलाई हल गरेर अघि बढन सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ काम गर्नुपर्नेमा जोड दिए।
महामन्त्री थापाले आयात प्रतिस्थापन गरेर मात्रै मुलुकको आर्थिक संकट पार्न सकिने भएकाले त्यस विषयमा सरकारलाई गम्भिर बन्न पनि ध्यानाकर्षण गराए।
‘मंसीरमा हामी निर्वाचन गराउँछौं। यो मंसीरसम्ममा सन्तुलित परराष्ट्र नीतिको आधारमा आफ्नो अन्तराष्ट्रिय व्यवहार सरकारले गर्छ भन्ने विश्वास व्यक्त गर्छु। मुख्य कुरा भनेको अर्थतन्त्र हाम्रो जुन अवस्था छ, यो समस्याग्रस्त मात्रै होइन है। एक प्रकारले संकटमा फस्न थालिसकेको छ। आन्तरिक र बाह्य कारणले जोखिम आईसक्यो। यो जोखिमलाई सम्बोधन गर्ने कुरामा सरकारको सबैभन्दा बढि ध्यान यसमा जानुपर्नेछ। आजको सबैभन्दा ठूलो चुनौति भनेको विजनेश एज युजल गरेर हाम्रो इकोनोमिले धान्नै सक्दैन। गएको दश महिनाको मात्रै हामीले हाम्रो व्यापार घाटा हे¥यौ भने करिवकरिव १६ खर्वको सामान हामीले ल्याउने तर एक खर्वको बेच्ने। हाम्रो लागि व्यापार घाटा सबैभन्दा चिन्ताको विषय हो। यसको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ । यस्तो बेलामा हामीले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने महत्वकांक्षी सोच राख्नैपर्छ। सरकारको नीति तथा कार्यक्रममा परेको छ। पेट्रोलियम पदार्थको परनिर्भरता घटाउने कुरा हाम्रो सबैभन्दा ठूलो प्राथमिकताको विषय हुनुपर्छ । यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो।’
थापाले सरकारले परराष्ट्र नीतिलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय