हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रमुख विपक्षी दलले विगत ९ महिनादेखि सदनभित्र गरेको गतिविधिप्रति कडा व्यंग्य गर्दै सभामुखलाई ताला र जापी दिएका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा शनिबारको प्रतिनिधि सभा बैठकमा सांसद महतले विगत लामो समयदेखि विनाकारण सदन अवरोध गर्दै आएकोमा हालै सुरु भएको बजेट अधिवेशनमा भने विना अवरोध खुलाएर सत्ता पक्षमाथि खनिएकोप्रति व्यंग्यात्मक शैलीमा ताला÷चापी दिएका हुन्। उनले विगतमा प्रतिपक्षी दलको कारण सदनमा बोल्न पाइने होइन कि भन्ने डर र त्रास भएपनि अहिले सदनमा एमालेको अवरोध हटेकोमा यसलाई एमालेको इच्छामा चल्ने थलोको रुपमा परिणत भएको टिप्पणी गरे। सम्बोधनको क्रममा उनले चर्को स्वरमा बोल्दा फेरि कतै एमालेले अवरोध त गर्ने होइन भनि प्रश्न गर्दै भने, ‘अझै पनि मलाई लाग्छ, उहाँहरुले धित मरुञ्जेल यहाँ आएर अरुलाई गाली लगौज गर्नुहोला। धित मरिसकेपछि फेरि अवरोध गर्नु होला। त्यसैले अब यो सदनमा ताला, चापी ल्याएर राखिदिउ भन्ने लागि यो ताला, चापी ल्याएको छु। यहाँहरुलाई मन लागेको समयसम्म बोल्नु होला, अनि मन नलागे ताला, चापी लगाइदिनु होला। फेरि मन लागेछ भने आएर चापी खोलेर बोल्नु होला भनि यो ताला, चापी सभामुखलाई बुझाएँ।’ सांसदहरुलाई समय विभाजनको विषयमा व्यंग्य गर्दै उनले भने, ‘अब यहाँ गाली गर्नेलाई तीन घण्टाको समय छ तर, कर्णालीको आवाज सुनाउनेलाई तीन मिनेटको छ।’ बिहिबारको संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलका नेता केपी शर्मा आलीले करिब ३ घण्टा बोल्दै सत्ता र सरकारको चर्को आलोचना गरेका थिए। ओलीले आफ्नो नीजि सम्पत्ति राज्यलाई दिएको भनि अरुलाई दिएको चुनौतीप्रति व्यंग्य गर्दै महतले नीति तथा कार्यक्रममा सच्याउने अभ्यासको स्मरण गर्दै उनले भने, ‘दुइटा शब्द सच्याउनु पर्यो। एउटा दानवीर वली भन्ने थियो नि, त्यसलाई सच्याएर दानवीर वलीको ठाउँमा दानवीर ओली राख्नु पर्यो।’ अध्यक्ष ओलीलाई वलिदान भन्ने शब्द मन नपरेको भन्दै अब वलिदानको ‘वलि’को ठाउँमा ओली राख्न सुझाव पनि दिए। ‘अव वलिदान होइन, ओलीदान। किन भने, वलिदानलाई त उहाँ स्वीकार्नु हुन्न। ओलीदानलाई त उहाँ स्वीकार्नु हुन्छ। त्यसकारण वलिदानको ठाउँमा ओलीदान, दानवीर वलीको ठाउँमा दानवीर ओली राख्नु पर्ने भयो।’
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update