हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संसदमा पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जारी छलफल सकिएको छ। स्थानीय तहको निर्वाचनको कारण संघीय संसदको अधिवेशन बस्न ढिला भएपछि विगतको परम्परा र अभ्यास भन्दा अलि फरक ढंगले संसदमा जेठ १० गते पेश भएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि बिहिबारदेखि जारी छलफल शनिबार साँझ सकिएको छ। सत्ता र प्रतिपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि पक्ष र विपक्षमा राखेका विचारका अतिरिक्त सांसदहरुले यसमाथि उठाएका प्रश्नहरुको समग्र रुपमा आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको छ। यसका लागि सभामुख अग्निप्रसाद सापकोटाले आजको पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेको लगत्तै दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले जवाफ दिने छन्। संसद सचिवालयले तय गरेको दोस्रो बैठकको कार्यसूचि अनुसार, प्रधानमन्त्री देउवाले जवाफ दिएपछि उक्त प्रस्ताव आजै निर्णयार्थ सदनमा पेश हुनेछ। संसदले राष्ट्रपतिलाई धन्यवादसहितको प्रस्ताव पारित भएपछि अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट आइतबार पेश गर्नु अघि सरकारको आर्थिक सर्वेक्षण पेश गर्नेछन्।  
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update