हिमाल दैनिक
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताउनुभएको छ । उहाँले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाउनुभएको छ । “अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको छ, यसको व्यवस्थापन गर्नु तपाईं र मेरो साझा दायित्व हो”, उहाँले नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने र नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहर छुट्याएर निकालिनुपर्ने बताउनुभएको छ । “उपत्यकाको फोहोर व्यवस्थापनको समाधान अन्त कतै फ्यालेर वा थुपारेर मात्रै हुँदैन, स्रोतबाट नै कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन”, उहाँले अपिल गर्नुभएको छ । यसअघि जे जसरी चलेको भए पनि आगामी दिनदेखि हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा सहयोग गरी आफ्नो कर्तव्य पूरा गरिदिनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । नागरिकले स्रोतमा नै छुट्याइसकेको फोहोरलाई कामपाले पुनः एकै ठाउँमा मिसाउने गल्ती नगर्ने पनि उहाँले अठोट गर्नुभएको छ । यसैबीच सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरेपनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेका छन् । रासस
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update