हिमाल दैनिक
जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित
Pen
जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित हुनुभएको हो । जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित हुनुभएको हो । जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको हो । नेकपा एमालेले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन गरी उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार घलेको उम्मेदवारी स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४५ ९३० बमोजिम खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी बबिता खत्री निर्वाचित हुनुभएको छ । उहाँ एमालेकी रेनुका माया गुरुङलाई तीन मतले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी खत्रीले ११ मत प्राप्त गर्दा पराजित गुरुङले आठ मत पाउनुभएको थियो । जिससको खुल्ला सदस्यमा माओवादी केन्द्रका मणिराज खत्री, नेपाली कांग्रेसका छेदर भोट र मनोजकुमार थायुम निर्वाचित हुनुभएको छ । महिला तीन सदस्यमा माओवादी केन्द्रकी अरिता राई, शान्तिदेवी राई र कांग्रेसकी भत्तीमाया गुरुङ विजयी हुनुभयो । दलित वा अल्पसङ्ख्यक सदस्यतर्फ कांग्रेसकै देउमान राई विजयी हुनुभएको छ । रासस/किमाथाङ्का
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update