जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकीकरणका लागि गरेको आब्हानलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ठाडै अस्विकार गरिदिएका छन्।
मधेस केन्द्रीत दलका रुपमा परिचित यी दुई दलबीच पटक पटक एकता र विभाजन हुँदै आएपनि बुधबार जनकपुरमा जसपाका अध्यक्ष यादवले अहिलेको आवश्यकता फुटेर नभई जुटेर पुरा हुने दाबी गर्दै विगतका गतिविधिको समिक्षा गर्दै एकताको बाटोमा फर्किए आफूहरु लोेसपाका नेताहरुलाई स्वागत गर्न तयार भएको अभिव्यक्ति दिएका थिए।
त्यसलगत्तै प्रतिनिधि सभाको बैठकमा सहभागी हुन पुगेका लोसपाका नेता लक्ष्मणलाल कर्णले संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग सक्षिप्त प्रतिक्रिया दिँदै भने, जसपा अध्यक्ष यादवले बाटो, बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीकरणका लागि गरेको आब्हानको औचित्य नभएको दाबी गरे।
यादवको आब्हानप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद कर्णले जसपा अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको आरोप लगाउँदै अहिले संकटमा परेपछि लोसपाको सहयोग खोजेको आरोप समेत लगाए।
जसपा अध्यक्ष यादवको स्वभावप्रति कटाक्ष गर्दै कर्णले अहिले संकट परेपछि एकताको कुरा गरेपनि त्यो संकट टरेपछि फेरि लखेट्ने प्रवृत्ति उनीमा रहेको दाबी समेत गरे।
तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको योजना र चाहनामा राजनीतिक दल विभाजनको अध्यादेश ल्याएर जसपा विभाजनको संघारमा पुगेकै अवस्थामा तत्कालिन तमलोपासँग रातारात पार्टी एकीकरण गरेर संकट टारेको घटनाप्रति लक्षित गर्दै कर्णले थप्दै भने, ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ। हामीसँग कुनै कुरा गर्नुभएको छैन। हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकिकरण गरेर जोगाइएको होइन?’
विगतको तितो अनुभव स्मरण गर्दै नेता कर्णले भने, ‘त्यसको बदलामा उहाँले मसहित महन्थ ठाकुरलाई पार्टीबाट निकाल्दिएको होइन?’
पार्टीभित्र आन्तरिक विवाद चर्किँदै गएपछि दल विभाजनको बाटोमा यादव गएको आरोप लगाउँदै कर्णले भने, ‘पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन? अनि के को मेल? आज फेरी पार्टीमा संकट उत्पन्न भएको छ उहाँको। संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने। र संकट निवारण भएपछि लखेट्दिने!’
एकीकरणको विषयमा औपचारिक रुपमा कुनै प्रस्ताव नआएको जानकारी दिँदै कर्णले प्रश्न गरे, ‘अनि अहिले आएर फेरी बाटो बाटोमा कुरा सुनिराखेको छु एकिकरणको। के को लागि एकिकरण? किन एकिकरण? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन।’
यसैगरी नेता कर्णले बाहिर समाचारमा आएजस्तो आफ्नो पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नभएको दाबी गरे।
सांसद कर्णले लोसपा सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री देउवासँग कुरा नगरेको मात्र होइन, यसबारे देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउ नभनेको स्पष्ट पारे।
केही दिनअघि लोसपा अध्यक्ष महन्थ ठाकुरले देउवासँग गरेको भेटवार्तापछि उक्त भेटको उद्देश्य लोसपाको सरकारमा सहभागिता हुन सक्ने अड्कलबाजीसहितका समाचार बाहिर आएको थियो।
त्यसप्रति इंगित गर्दै नेता कर्णले भने, ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको। प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ।’
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय