हिमाल दैनिक
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्मै कायम रहने दाबी गरेका छन्। अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताए। पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान समेत गरे। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीलाई गठबन्धनकै दलहरुले धोका दिएको कारण अपेक्षाकृत सफलता हाँसिल हुन नसकेको भन्दै पुनः वामगठबन्धनको चर्चा चलिरहेकै बेला नेता नेपालले त्यस्तो सम्भावनालाई इन्कार गरेका छन्। उनले गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर, गठबन्धनलाई भने निरन्तरता दिएरै जाने दृढता व्यक्त गरे। उनले भने, ‘अव यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु भइरहेका छन् र त्यस्ता कुप्रचारका पछाडि हामी लाग्नु हुँदैन। हामी यो गठबन्धनलाई आउने चुनावसम्म र चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं। यो गठबन्धन कसरी भत्कियोस्। आपसी अविश्वास कसरी बढोस भनेर अनेकखालका प्रयत्नहरु पनि भएका होलान। तर, त्यसको पछाडि हामी लाग्नु हुँदैन। हामी इमान्दारिताका साथ चल्छौं।’ गठबन्धनभित्र कुनै कमिकमजोरी भए त्यसको समिक्षा र आलोचना गर्ने बताउँदै उनले भने, ‘हामीलाई एकल्याउन खोजिएको छ भने त्यसो आलोचना गर्छौंं। आफ्नो अडानमा दृढताका साथ उभिन्छौं। हामी अडानमा नउभिने, अरुले पेल्यो भनेर रुने यस्तो काम गर्न हुँदैन। त्यसले हाम्रो कमजोरी झल्किन्छ। तथ्यको आधारमा, तर्कको आधारमा आफ्नो कुरालाई पुष्टि गर्न सक्नुपर्दछ। चाहिने दुईटा कुरा हो–पहिलो तथ्य हो, दोस्रो तर्क हो। सक्दैसक्दैनौं।’ अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा सानदार ढंगले सफलता हाँसिल गरेको बताए। हालै पार्टीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाइएको विषयमा आलोचना नगर्न पनि पार्टी पंक्तिलाई नेता नेपालले सचेत गराए। पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने धारणा अध्यक्ष नेपालको थियो। उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए। नेपालले भने, ‘अव दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं। मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ। यथोचित मूल्यांकन हामी गरौंला। राम्रो कामको निम्ति धन्यवाद दिनेछौं। कमजोरीलाई ध्यानमा राखेर अव जाने टिमले राम्रो काम गरोस भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाई छ।’ अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update