तत्कालिन नेकपा (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ती सुद्धिकरण विभाग लगायतका विभिन्न महत्वपूर्ण निकाय आफू मातहतमा राखेको विषयमा सदन र सडकमा चर्को स्वरले विरोधमा उत्रिएको वर्तमान सत्तारुढ दलका नेता तथा सांसदहरुलाई त्यही विषय अहिले घाँडो सावित हुँदैछ।
ओलीको बचाउमा त्यतिबेला सदनमा उत्रिएर बहस र प्रतिवाद गर्ने तत्कालिन सत्तारुढ हालको विपक्षी दल नेकपा एमाले सांसदहरुले ओलीलाई शक्तिको मोहमा तानाशाही बन्न लागेको भनि आरोप लगाएका नेता तथा सांसदहरुलाई अहिलेसम्म किन त्यी विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमै राखिराखेको भनि मात्र प्रश्न गरेनन् उनीहरुलाई नून खाएर झोक्राएको कुखुराको संज्ञा समेत दिए।
आइतबारको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी हुँदै नेकपा एमाले सांसद खगराज अधिकारीले हिँजोका दिनमा त्यी निकाय प्रधानमन्त्री कार्यालयको मातहतमा राख्दा चर्को आलोचना गर्नेहरुले अहिले किन त्यो नसच्याएर मौनता साँधिरहेका छन् भनि प्रश्न गरे।
उनले भने, ‘यो संसदमा माननीय सदस्यहरुले बडोे जोडतोडका साथ राष्ट्रिय अनुसन्धान विभाग किन प्रधानमन्त्री कार्यालयमा केन्द्रीत गरियो? सम्पत्ती सुद्धिकरण विभाग किन केन्द्रित गरियो? अरु यस्तै विभाग किन केन्द्रित गरियो? केपी ओली तानाशाही भए। शक्तिको मोह भयो भनेर भन्ने माननीयज्यूहरु आज नून खाएको कुखुरा झैँ किन ओइलाएर बसिरहनु भएको छ, सम्माननीय सभामुख महोदय? आज त्यो सप्पै शेरबहादुर देउवाजी प्रधानमन्त्री भएपछि त्यो सबै समाप्त भयो? शेरबहादुरजी शक्तिको केन्द्रीकरण गरेर किन बसिरहनु भएको छ सम्माननीय प्रधानमन्त्रीज्यू? यसको जवाफ नदिइकन तपाइहरुले कुन नैतिकताको आधारमा यहाँ छलफलमा भाग लिनुहुन्छ? त्यसको जवाफ हामीलाई चाहियो।’
संविधान जारी भएलगत्तै सम्पन्न निर्वाचनबाट गठन भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालय र अर्थ मन्त्रालय मातहतका केही महत्वपूर्ण विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा लगेपछि सदनमा यसको चर्को विरोध भएको थियो।
सांसद अधिकारीले आरोपका लागि आरोप लगाउने र अधिनायकवादी बन्नेहरुसँग कुनै प्रश्नको उत्तर छ जस्तो आफूलाई नलागेको बताउँदै अहिले यी विभागहरु प्रधानमन्त्री मातहतमा राख्दैमा देशमा सुशासन, सेवा प्रवाह र महंगी नियन्त्रणमा कुनै भूमिका निर्वाह गर्न नसकेको मात्र होइन, देशको राष्ट्रिय सुरक्षा र राष्ष्ट्रिय स्वाधिनता रक्षाका लागि पनि कुनै योगदान नपुगेकोे आरोप लगाए।
साथै उनले प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदा दिल्लीस्थित नेपाली राजदूतावासमा नयाँ नक्साको सट्टा पुरानै बुच्चे नक्सा राखेर आएको किन भनि प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।
यस्तो अवस्थामा पनि विगतमा आलोचना गर्नेहरु अहिले मौन बस्नु उनीहरुको अवस्था नून खाएको कुखुराको जस्तै हो कि होइन भनि प्रश्न समेत गरे।
यसका अतिरिक्त पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरे।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय