हिमाल दैनिक
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौतासँगै कार्यान्वयन समेत गरेको आरोप लगाएका छन्। बिहिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित २१औँ रितबहादुर खड्का स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो आरोपसहितको दाबी गरेका हुन्। चौतर्फी दबाब र विरोधका बाबजूद पनि अमेरिकासँग भएको एमसीसी सम्झौता सदनबाट पारित गराएको सरकारले फेरि अमेरिकी सेनालाई नेपाल भित्र्याउनेगरी वर्तमान सरकारले एसपिपी सम्झौता गरेको भन्दै सदन र सडकदेखि सामाजिक सञ्जालमा वर्तमान सरकार र यसको नेतृत्वको चर्को आलोचना भइरहेको बेला सत्ता साझेदार दल माओवादीका अध्यक्ष दाहालले त्यसको प्रतिवाद गरेका हुन्। उनले एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए। अध्यक्ष दाहालले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको भन्दै रोष प्रकट गरे। गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमणको समयमा एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेकिरासँग एसपिपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा पनि दाहालले गरे। अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिकलाई भ्रममा नपर्न आग्रह समेत गरे। अध्यक्ष दाहालले भने, ‘कतिपय बेला कयौँ भ्रमहरु सिर्जना हुने र त्यसले जनतालाई प्रश्न उब्जाउँछन्। हामीले त्यसलाई जवाफ दिने पनि गरेको छौँ। अहिले फेरि एकपटक कुनै न कुनै रुपले राष्ट्रवादको झुटो र राष्ट्रवादको बडो पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो। जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको बढी धावा दिने गरेको अनुभव नेपाली जनतालाई छ। हिजोआज पनि एउटा प्रश्न एसपीपी भन्ने हुँदैछ रे!, सैनिक सम्झौता हुँदैछ रे! भनेर भइसक्यो रे! भनेजस्तो गरी प्रचार गरिएको छ। बिल्कुल झुटो हो। म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्री, गठबन्धनसँग भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुनेछैन यो घोषणा म यहाँबाट गर्न चाहन्छु। कुनै हुनेछैन। प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर त्यो कमिटमेण्ट गर्नुभएको छ। कोही भ्रममा पर्न जरुरी छैन।’ विगतमा एमसीसीको विषयमा पार्टीभित्र र बाहिर चर्को बहस र विरोध हुँदैगर्दा मौन बस्दै आएका दाहालले एसपिपी सम्झौताको विषयमा भने सरकारको स्पष्ट ढंगले बचाउमा उत्रिने जमर्को गरेका छन्। यसरी चलेका हल्लाको विषयमा विपक्षी दलका नेताप्रति नै प्रश्न उठाउँदै दाहालले भने, ‘बरु एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ। यो कुरा हामी सबैले बुझ्न जरुरी छ। तर हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधिनताको पक्षमा, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ।’ अध्यक्ष दाहालले गठबन्धन सरकार एसपिपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता दोहोर्याए। उनले नेपालको समृद्धि र विकासको यात्रा पनि सहमति र सहकार्यबाट गर्ने बताउादै एक्लै अघि बढ्ने अहंकार, निरंकुशता र अराजकता सबैले तोड्न आवश्यक रहेको बताए।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update