हिमाल दैनिक
अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा संसदमा विरोधकाबीच अर्थमन्त्री शर्माको जवाफ सुरु
UML protest
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बिहिबारको बैठकमा अवरोध सुरु गरेको छ। सरकारले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको वार्षिक बजेट तयारीका क्रममा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको समाचार प्रकाशित भएपछि त्यसको विरोध गर्दै आएको एमालेले आजको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ अथृमन्त्रीले दिने कार्यतालिका राखिएपछि विरोधमा उत्रिएको हो। आजको बैठकको सुरुवातमा एमाले नेता ईश्वर पोखरेलले बहुचर्चित विवादस्पद एसपिपी सम्झौताको विषयमा सत्तापक्षका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको भन्दै त्यसको खण्डन गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अघि बढाउन खोजेका थिए। त्यसपछि एमालेका सांसदहरु उभिएर विरोध जनाए। सभामुख सापकोटाले एमाले सांसद भानुभक्त ढकाललाई बोल्न समय दिए। ढकालले संविधान र कानून विपरित बजेट निर्माण प्रक्रियामा अर्थमन्त्री शर्माले बजेट बनाउँदा विचौलियाको संलग्नता गराएर करका दर रेट फेरबदल गरेको भन्दै अर्थमन्त्री शर्माको नैतिकताको आधारमा राजीनामा नआएसम्म सदनमा विरोध जारी राख्ने भन्दै एमाले सदस्यहरु उभिए। त्यसपछि सभामुख सापकोटाले यसबारे संबन्धित मन्त्रीले जवाफ दिने बताउँदै कार्यसूचिमा रहेको सूचि अनुसार अर्थमन्त्री शर्मालाई विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन समय दिए। त्यसपछि एमालेको चिन्हबाट चुनाव लडेर सांसद बनेका हृदयश त्रिपाठीले यत्ति गम्भीर विषयलाई हल्का रुपले नलिई विगतमा जस्तै संसदीय छानविन समित बनाउन माग गरे। त्यसको बाबजूद सभामुख सापकोटाले शर्मालाई बोल्न समय दिएपछि एमाले सांसदहरु सदनमा आफ्ना आफ्नै स्थानमा उभिएर विरोध जनाइरहे। अर्थमन्त्री शर्माले आफ्नो जवाफ वाचन गर्न शुरु गरे।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update