नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)लाई चुनावी एजेण्डा बनाउन खोजेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले यो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।”
प्रवक्ता डा महतले नेकपा ९एमाले० गएको स्थानीय तहको निर्वाचनपछि एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उहाँको आरोप थियो ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता डा महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनःसञ्चालनको सम्भावना कमै रहेको बताउनुभयो ।
निजी क्षेत्रलाई प्रतिस्पर्धीरुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उहाँको थियो ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उहाँले बताउनुभयो । रासस
प्रकाशित मिति: आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय