हिमाल दैनिक
बेँसीसहर–चामे सडक अवरुद्ध
JanakShrestha_Lamjung_RSS_05_dumrebsrsadakpiclamjung
गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताउनुभयो । हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो । खरखरेमा मस्र्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ । यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ । यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ । यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङका स्थानीयवासी बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् । गत वर्ष पनि यो सडक अवरुद्ध हुँदा मनाङवासी हेलिकोप्टरको सहायतामा बेँसीसहर आएर काठमाडौँ, पोखरा गएका थिए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक निर्माणको काम अघि बढाउँदै विसं २०६९ मा सम्पन्न भएको थियो । यसयता सवारी सञ्चालन हुँदै आए पनि बर्सेनि बर्खायाममा पटक–पटक विभिन्न स्थानमा पहिरो जाँदा सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ । तल मस्र्याङ्दी नदी र माथि भिरैभिर हुँदै बीचमा साँघुरो सडकमा सवारी सञ्चालन हुँदै आएको छ । इञ्जीनियर अधिकारीका अनुसार यस सडकबाहेक डुम्रे–बेँसीसहर सडक भासिएको छ भने तनहुँमा समेत पहिराले यस सडक अवरुद्ध भइरहेको छ । रासस÷लम्जु
प्रकाशित मिति: आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update