हिमाल दैनिक
भण्डारको साँचो एकातिर, थाल ठटाउँदै महामन्त्रीद्वय थपलियाको आँगनतिर!
AR_KTM-289075929__n
निर्वाचन आयोगले आफ्नो नियमित प्रक्रिया अनुसार, आसन्न आमनिर्वाचन पूर्व मतादाता नामावली ऐन बमोजिम मतदाता नामावली अध्यावधि गर्ने कार्य सुरु गरिसकेको छ। यहीबीचमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अव हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। मंगलबार कागं्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई निर्वाचन आयोगमा पुगेर भेट्दै विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन्। कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरु रहेको भन्दै उनीहरुलाई मतदानबाट बञ्चित गर्न नहुने बताए। यस बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जानकारी दिए। विदेशमा लाखौँ नेपाली रहेको र उनीहरुले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारकबाट बञ्चित गर्न नहुने उनले बताए। सत्तारुढ दल कांग्रेसका महामन्त्रीद्वयले आयोगका पदाधिकारीसँग गरेको भेटवार्ताको विषयमा निर्वाचन आयाुक्त ईश्वरी पौडेलले हिमाल दैनिकसँग कुरागर्दै राज्यले चाहेको अवस्थामा आवश्यक व्यवस्था मिलाए विदेशमा रहेका नेपालीको नामावली संकलन मात्र होइन, मतदानको व्यवस्था गर्न पनि आयोगलाई कुनै समस्या नहुने बताए। ‘यसका लागि त पहिले राज्यले विद्यमान मतदाता नामावली सम्बन्धी ऐनसँगै निर्वाचन ऐनमा संशोधन गरीदिनु पर्यो,’ आयुक्त पौडेलले थप्दै भने, ‘त्यसपछि सरकारले कुन मुलुकमा के कति नेपालीहरु रहेका छन् उनीहरुको तथ्याङक विवरणसहितको अभिलेख तयार पार्नु पर्यो।’ यसरी तयार पारेको कानूनी व्यवस्थासँगै उपलब्ध अभिलेखसँग राज्यले यसका लागि चाहिने दक्ष जनशक्ति, स्रोत, साधनको व्यवस्था मिलाएको खण्डमा विदेशमा रहेका नेपालीको मतदाना नामावली अध्यावधिसँगै उनीहरुको मताधिकार सुरक्षित गर्न आयोग सँधै तयार रहेको जानकारी उनले दिए। महामन्त्री थापाले विद्यमान कानूनमा कम्तिमा पनि ५ ठउाँमा संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि संसदले छोटो बाटोबाट ऐन संशोधन गर्न सक्ने बताए। उनले भने, ‘कानूनमा भएको व्यवस्थामा कम्तिमा पनि ५ ठाउँमा यसलाई बदल्नुपर्छ। जसको आधारमा नेपाल भन्दा बाहिर रहेका नेपालीहरुलाई मतदाताको रुपमा सूचित पनि हुन्छ, नाममा पनि राख्न सकियो। त्योसँगै मतदान गर्न पाउने अवस्था बनाउन सकिन्छ। ८÷१० दिन भित्रमा निर्वाचन ऐनको विषय संसदमा पेस गर्नेछौं र त्यसका निम्ति राजनीतिक समझदारी कायम गरेर छिटो त्यसलाई संसदमा पारित गरेर पास गर्ने कुरामा हाम्रो भुमिका अपेक्षा गर्नुभएको छ। जुन हामी गर्नेछौं नै। अर्को श्रावण १ गतेबाट नै नेपाल बाहिर रहेका नेपालीहरु नेपाल बाहिर हुनुहुन्छ, नेपालमा नभएको कारण मतदाता नामावलीमा नाम लेखाउन छुटेको हुनुहुन्छ। तर, मतदानको बेलामा फेरि नेपालमा आउनुहुन्छ। कम्तिमा उहाँहरुको नामावली संकलन गर्ने कुरा काठमाडौंमा अन्य जिल्लाको गरेजस्तै गरी यसलाई अघि बढाउन भनेका छौँ। सम्भव भएसम्म साउन १ गतेबाट नै नेपाल बाहिरका नेपालीहरुलाई मतदातामा नाम संकलन गर्ने कुरालाई अघि बढाउने छलफल शुरु गर्नेछौँ।’ स्मरणीय कुरा के छ भने, महामन्त्रीद्वकै पार्टी सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री तथा निर्वाचन कानून संशोधनको प्रक्रिया अघि बढाउने जिम्मेवारीमा कांग्रेसकै नेता बालकृष्ण खाण छन् भने संसदमा गठबन्धनको बहुमत छ। तर, अहिलेसम्म सरकारको तर्फबाट निर्वाचन ऐन संशोधनको प्रक्रिया अझै सुरु हुन सकिरहेकै छैन। यस्तो अवस्थामा यदी सरकारले चाहेको खण्डमा मन्त्रिपरिषदले निर्वाचन र मतदाता नामावली सम्बन्धी ऐनहरु संशोधनको प्रक्रिया तत्काल अघि बढाएको खण्डमा त्यो विधेयक पारित हुन चाडोमा २७ दिन लाग्दछ। जब कि वर्तमान सरकारले यही असारको अन्तिम साता अघि नै संघ र प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ। अर्थात, जसले जतिसुकै चाहना देखाएर आवश्यकता ठाने पनि विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित हुन यसपटकका लागि असम्भव प्रायः नै देखिन्छ। साथै महामन्त्री थापाले मताधिकारका साथै काठमाडौंमा पनि मतदाता नामावली संकलनलाई व्यस्थीत गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए। मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उनले बताए। थापाले तत्कालै काठमाडौंको मतदाता नामावली संकलनलाई व्यवस्थीत गर्ने प्रतिवद्धता आयोगले जनाएको बताए।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update