पार्टी नेतृत्वले गरेको मन्त्री फेरबदलको निर्णयप्रति असन्तुष्ट बनेका नेकपा एकीकृत समाजवादी (एस)का चार मन्त्रीसहित १० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन्।
एमालेबाट करिब ९ महिना पहिले विभाजित भएर नयाँ दल नेकपा एसको तर्फबाट सरकारमा सहभागी हुन पुगेका विवादस्पद मन्त्री प्रेमबहादुर आले, विरोध खतिवडा, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठसहित १० जना सांसदहरुले बिहिबार पार्टी संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।
तीन हप्ता अघि पार्टी नेतृत्वले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा अरु सदस्यहरुलाई पठाउने निर्णयसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि नेकपा एसभित्र विवाद चर्किएर गएको थियो।
नेकपा एसको सिफारिस तत्काल कार्यान्वयन गरी मन्त्रिमण्डल फेरबदल गर्दा त्यसको असर गठबन्धनमा सहभागी अन्य दलभित्र पनि पर्न सक्ने र त्यसले अत्तःत सरकारले संसदमा पेश गरेको बजेट पारित गर्ने प्रक्रियामा समस्या उत्पन्न गर्न सक्ने आशंकामा प्रधानमन्त्री देउवा र गठबन्धनमा सहभागी दल नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष नेपाललाई केही समय पर्खिन आग्रह गर्दैआएका थिए।
त्यसको बाबजूद मन्त्री बन्न आतुर नेकपा एसका सदस्यहरुको दबाबमा उक्त पार्टीले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिएपछि अर्को पक्षका १० सांसदले ८ बुँदे ध्यानाकर्षण पत्र पार्टीमा बुझाएका हुन्।
उनीहरुले सरकारले संसदमा पेश गरेको बजेटमाथि छलफल जारी रहेकै समयमा आफूहरुलाई कुनै जानकारीवीना नै फिर्ता बोलाएर पटक पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै रोष् प्रकट गरेका छन्।
पार्टी नेतृत्वसँग मन्त्री हुनुअघि नै सल्लाहमा भनेको बेला फिर्ता हुने भनिएपनि नेतृत्वले आफूहरुलाई विश्वास नगरेर जे जसरी निर्णय गरिएको छ त्यसमा असन्तुष्ट बनेका सदस्यहरुले सरकारमा नयाँ व्यक्तिलाई पठाउँदा निर्वाचित जनप्रतिनिधिहरुमध्येबाटै समावेशी प्रतिनिधित्वको आधारमा मिलाएर पठाउन पनि माग गरेका छन्।
उनीपहरुले दर्ता गरेको ध्यानाकर्षण पत्रले नेकपा एसभित्र विभाजनको खाडल गहिरिएर जान सक्ने खतरा बढ्दै गएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय