नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने दाबी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनैपनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताए।
उनले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने दाबी गर्दै कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने हुँदा राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादा कायम रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए।
उनले भने, ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ। आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ। कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ। विदेशीहरुको सामु लम्पसार पर्दैन। विदेशीहरुका सामु घुँडा टेक्दैन। विदेशीका ईसारामा नाच्दैन। विदेशीहरुको स्वादमा चल्दैन। आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राख्छ। फलस्वरुप जनताको विश्वास हामी जित्न सक्छौँ।’
अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेपनि बताए।
उनले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्वन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताए।
अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने धारणा राखे।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय