हिमाल दैनिक
पर्वतारोहीमाझ दाहालले भनेः फेरि एक पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्ने धोको छ
adhyax-pushpa-kamal-dahal-696x392
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरी एक पटक प्रधानमन्त्री हुने चाहना देखाएका छन्। करिब १० वर्ष लामो हिंसात्मक द्वन्द्धको शान्तिपूर्ण रुपान्तरणमार्फत विगत १५ वर्षको अवधिमा दुई पटक प्रधानमन्त्री बन्न सफल अध्यक्ष दाहालले पर्वतारोहीहरुको माझ देशको कुनै शिखर चढ्ने भन्दा पनि प्रधानमन्त्रीको कुर्सीमा फेरि एक पटक बस्ने धोको रहेको बताए। नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा शुक्रबार दाहालले फेरी एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्। अध्यक्ष दाहालले पहिलो पटकको प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे। ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो। एउटा नयाँ परिस्थिति बन्यो।,’ उनले भने। दोस्रो जनआन्दोलन ०६२–६३ पछि सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा अनपेक्षित सफलता हाँसिल गर्दै एमालेको साथ र समर्थनमा देशको प्रधानमन्त्री बन्न सफल दाहालले ९ महिनाको कार्यकाल पुग्न नपाउँदै नेपाली सेनाका प्रधानसेनापतिलाई बलजफती हटाउन लागेपछि आफैँ बहिर्गमनको बाटो रोज्नु परेको थियो। दोस्रो संविधान सभाबाट नयाँ संविधान निर्माण गरेको ९ महिनापछि कांग्रेससँगको सहमतिमा पुनः प्रधानमन्त्री बनेका दाहालले उक्त कार्यकालको विषयमा भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाई त्यसमा गर्व छ। देशका राष्ट्रिय एकतानै के हुने हो भन्ने बेलामा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन। आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साँढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन। सबै जातजाति, क्षेत्र, भाषा, समूदायको एकतालाई सुदृढ गर्दै लोकतन्त्रको सुदृढिकरणको प्रक्रियामा अघि बढने कुरा पनि अव बाँकि जीवन देशको आर्थिक विकास र समृद्धिको निम्ति सबै क्षेत्रको समृद्धिको यात्रा सुरु गर्ने मनसायको साथ राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना बोकेर अबको जीवन बिताउने मैले भनेको थिए। जुन प्रयोग निकै ठूलो साहसका साथ गरिएको थियो। त्यो सफल भएन। बामपन्थीहरुको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना देखेर जे गरियो । त्यो सफल भएन । त्यसबारे मैले अहिले लामो भन्नु केही छैन। तर तपाईहरुले भन्नु भयो, तपाईहरुले भनेको कुरा तपाईहरुको आर्शिवाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ। किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ। यो परिवर्तन ल्याउनका निम्ति। यहाँ त्यो कुरा पनि आयो। म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु।’ अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्याम भएको बताए। उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गरे। उनले पर्यटन क्षेत्रलाई उद्योगको रुपका विकास गरी त्यसलाई सहुलियत दिन र संघलाई अल्पाइन क्लबको रुपमा विकास गर्नेबारे सरकारसँग पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक आग्रह गरेका थिए।  
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update