नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् ।
सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।
एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाउनुभयो । उहाँले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिए । सभाध्यक्ष तिमिल्सिनाले बैठक बहिस्कार नगर्न पटकपटक आग्रह गरे पनि एमाले सांसदले त्यसलाई स्वीकार गरेनन् । एमाले सांसदको बहिस्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिनुभयो । अर्थमन्त्रीको जवाफ सकिएपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
यसअघि प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसदहरुले मन्त्री शर्माको विषयमा विभिन्न प्रश्न उठाउँदै बैठक बहिस्कार गरेका थिए । रासस
प्रकाशित मिति: सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय