हिमाल दैनिक
नेकपा एमालेको औपचारिक विभाजन पश्चात विभाजित समूहमा गुमनाम जस्तै अवस्थामा रहेका नेता वामदेव गौतमले अन्ततः आफ्नै नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी गठन गरी त्यसको सार्वजनिक गर्ने तयारीमा जुटेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेपनि विभाजनपछि गठित माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुले खोलेको नेकपा एकीकृत समाजवादी पार्टीमा सहभागी हुन सक्ने आशंकालाई बल पुग्नेगरी यदाकदा अभिव्यक्ति दिँदै आएका नेता गौतमले मंगलबार नै नयाँ पार्टीको घोषणा गर्ने भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको नाममा कम्युनिष्ट पार्टीहरुबीच एकताको अभियानमा सक्रिय रहेको बताउँदै आएका नेता गौतमले आजै अपरान्ह पत्रकार सम्मलेनमार्फत करिब ६ दर्जन नेताहरुसहितको केन्द्रीय कमिटी घोषणा गर्ने तयारी पनि गरिरहेका छन्। ठूला र स्थापित कम्युनिष्ट पार्टी र तिनका नेताहरुलाई एकताको सूत्रमा ल्याउन नसकेपनि गौतमले निर्वाचन आयोगमा पहिले नै दर्ता गरी बसेका कम्युनिष्ट विचारसँग नजिक समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी नेकपा राष्ट्रवादी पार्टीलाई भने आफ्नो पार्टीमा सहभागी गराउँदैछन्। जसमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सदस्य रहेकी उनकी श्रीमती तुलसा थापा गौतमदेखि उनैका छोरा पनि केन्द्रीय सदस्यका रुपमा रहने बताइएको छ। उनको पार्टी प्रवक्ताका रुपमा विवादस्पद छवि बनाएका पूर्व सभासद डिबी कार्की रहने पनि बताइएको छ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update