हिमाल दैनिक
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको जानकारी दिएका छन्। बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन्। उनले सो विधेयकको सम्बन्धमा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताउँदै आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने जानकारी दिए। ‘नागरिकता सम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रुपमा अहिले प्रतिनिधि सभामा छ। त्यसका बारेमा माननीय सदस्यहरुको तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ। र त्यसलाई पनि एउटा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ,’ उनले भने। नागरिकताको विषयलाई लिएर विगत केही वर्षदेखि नेपालको राजनीतिमा गम्भीर बहससहितको ध्रुविकरण कायमै छ। यसैगरी मन्त्री खाणले एकीकृत समाजिक सुरक्षा ऐन बताउन जरुरी भएको बताउँदै यसका लागि केही समय लाग्ने बताए। ‘यसका लागि थप गृहकार्य पनि गर्नुपर्ने छ। आउने दिनमा गृह मन्त्रालयले, सरकारले यसका सन्दर्भमा गृहकार्य पनि गर्नेछ र सुरक्षाको छाताभित्र जति राज्यले, राज्यका अवयवहरुले सामाजिक उत्तरदायित्व बहन गरेको छ र हाम्रो मौलिक अधिकारले पनि त्यसलाई निर्दिष्ट गरेको छ। ति सबै कुराहरुलाई हामीले सम्पादन गर्नैपर्दछ। राज्यले दायित्व लिनैपर्दछ,’ उनले भने। गृहमन्त्री खाणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए। संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको बताउँदै उनले संसदीय समितिहरुमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई अवगत गराउने बताए।  
प्रकाशित मिति: बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update