हिमाल दैनिक
प्रम देउवाले भनेः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमै हुन्छ
ROS_KTM-_IMGL9081
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन्। ६४औं संसद दिवसको अवसर पारेर बिहिबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं। हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पु¥याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो। गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भईसकेको छ। यसैवर्ष प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ।’ यसका लागि सबै पक्षले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा देउवाको जोड थियो। सरकारले आगामी कार्तिकको अन्तिम अथवा मंसिरको पहिलो साता एकै चरणमा संघ र प्रदेश सभा सदस्यका लागि निर्वाचन गर्नेगरी निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ। विपक्षी दलका अतिरिक्त समाजका हरेक कोणबाट समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने नहुनेबारे विभिन्न आशंका र अड्कलबाजीलाई चिर्दै वर्तमान सरकारले गत वैशाख ३० गते देशभरीका ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडामा एकैचरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको थियो। उक्त निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर हौसिएका देउवाले थप्दै भने, ‘मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास लिएको छु। अन्तमा, यो दिवसमा अवसरमा सम्पूर्ण राष्ट्रको सर्वोपरी हित अनुकुल हुने गरी काम गर्न अनुरोध गर्दछु।’ प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने धारणा समेत व्यक्त गरे।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update