हिमाल दैनिक
कांग्रेस उपसभापति गुरुङलाई पनि गठबन्धनकै चिन्ताले सतायो!
292307508_724298118859179_1850332318294156502_n
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। सत्ता गठबन्धनको नेतृत्व गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सम्पन्न स्थानीय निर्वाचनमा सुरु गरेको चुनावी गठबन्धनलाई आसन्न प्रदेश र संघीय निर्वाचनसम्मै अघि बढाउने तयारीमा अघि बढिरहेका छन्। यसरी देउवाले गठबन्धनको चुनावी राजनीतिलाई जोड दिइरहेकै बेला देउवा विरोधी खेमा र त्यसका नेताहरु भने गठबन्धनको विपक्षमा उभिन पार्टीभित्र दबाब दिँदै छन्। यसरी गठबन्धनको विरोधी समूहका नेतामध्येका एक उपसभापति गुरुङ भने पछिल्लो समय गुटगत लाइन भन्दा बाहिर गएर गठबन्धनको प्रतिरक्षा गर्न पुगेका हुन्। गठबन्धनको राजनीतिलाई गठबन्धनरुपी विमानको संज्ञा दिँदै उक्त विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जानसक्ने सम्भावना पनि उत्तिकै रहेको बताए। उनले भने, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाजमा चढ्यौं । जहाज उडिसकेको छ। आकाशामा छ, तर ल्याण्डिङ भएको छैन। अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ,।’ गठबन्धनको निरन्तरतलाई जोड दिँदै उनले थपे, ‘जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ। यस्तो अवस्थामा या त हामीले जहाजबाट प्यारासुटमार्फत जम्प गर्नुपर्छ। तर, खुट्टा भाँचिन्छ की भन्नेपनि हामीलाई त्रास छ। जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ। १० हजार, साढे १० हजार फिट माथि उडिरहेको छ, अहिले जहाज। अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले कांग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजभित्र हामीले झगडा शुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन। हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो। हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्नेकुरा हामी आफैँले प्रमाणित हुन्छ। हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्याण्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ।’ उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेके पुष्टि हुने दाबी समेत गरे। उनले सधैँ देश गरिब बनाएर काम गर्नुनहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए। साथै उनले देशको व्यवस्था परिवर्तन गरेरपनि जनताको अवस्था परिवर्तन हुन नसकेको गुनासो गरे।  
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update