हिमाल दैनिक
प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ। सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गरेका हुन्। संविधान र संसदीय नियमावलीले सभामुख र उपसभामुखमध्ये फरक दल र लिंगको हुने व्यवस्था गरिएको भएपनि ०७४ सालको निर्वाचन परिणाम लगत्तै एकीकृत भएका तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबाट बनेको नेकपा (नेकपा)ले सभामुख र उपसभामुख दबै पद कब्जा गरेका थिए। त्यसपछि तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाम्फेले मन्त्री पदका लागि राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहँदै आएको थियो। पछिल्लो सयम सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विवादस्पद संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधनका लागि अघि सारिएको विधेयकको विषयमा सडक र सदनमा विरोध भएपछि सत्ता साझेदार दलका शीर्ष नेताहरुले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन गर्ने सहमति भएको थियो। आजको बैठकमा सभामुखले उपसभामुख पदको निर्वाचन कार्यतालिकाको सूचना आजै प्रकाशित गर्न पनि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिँदै भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को निमय ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि यही २०७९ साल असार ३१ गते शुक्रबारको दिन तोकेको छु। साथै उक्त नियमावली बमोजिम प्रतिनिधिसभाको सचिव श्री गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना आजै प्रकाशित गर्न निर्देशन दिन्छु।’ यसरी उपसभामुख पदको पदपूर्ति भएमा नयाँ पदाधिकारीले बढीमा पाँच महिना पदमा रहन पाउने छन्। २०७६ साल माघ महिनादेखि सो पद रिक्त रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update