शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसद विद्या भट्टराईको उम्मेदवारी दर्ता गराएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको संसद बैठकमा दिएको निर्देशन अनुसार, शुक्रबारका लागि हुने भनिएको निर्वाचनमा बिहिबार अपरान्ह सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सचेतक पुष्पा भुसाल गौतमको नाम दर्ता गराए लगत्तै एमालेको तर्फबाट सांसद भट्टराईले मनोनयन दर्ता गरेकी हुन्।
उनको प्रस्तावकका रुपमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन्।
यदी संसदमा रहेका सत्ता र प्रतिपक्षी दलबीच सहमति नभएमा शुक्रबार अपरान्ह प्रतिनिधि सभाको उपसभामुख पदका लागि भुसाल र भट्टराईबीच चुनावी प्रतिस्पर्धा हुनेछ। भट्टराई एमाले नेता तथा पूर्वमन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन्। अधिकारीको केही वर्ष अघि हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि कास्की २ को उपनिर्वाचनबाट भट्टराई सांसद पदमा निर्वाचित भएकी थिइन्।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय