हिमाल दैनिक
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकार गठनका लागि गठबन्धनको आवश्यकता भएपनि निर्वाचनमा चुनावी तालमेलको आवश्यकता रहेको मात्र होइन, पार्टीभित्रै पनि अधिकतम सहमति र तालमेलमा जोड दिए। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहिबार बोल्दै पूर्व उपसभापति समेत रहेका नेता निधिले आगामी संघ र प्रदेश निर्वाचनमा राम्रो चुनावी तालमेलको आशा व्यक्त गरे। ‘चुनाव जित्नका लागि चुनावी तालमेल आवश्यक छ। यसपाली म के कुरा थप भन्न चाहन्छु भने, पहिलो पार्टी भएको जुन प्रतिवेदनमा आएको छ जुन प्रमाण नै हो। त्यसमा खुशी व्यक्त गर्दछु। जसरी तपाईले पहिलो पार्टी बनाउँछु भन्नु भएको छ, पहिलो पार्टी बनेको छ। अब आगामी चुनावमा पहिलो पार्टी बनाउँने उद्देश्यमा मात्रै सिमित नहोउँ। अब आगामी चुनावमा बहुमतीय पार्टी बनाउँने कुरामा हाम्रो ध्यान केन्द्रित गरौँ भन्ने मेरो आग्रह हो,’ उनले भने। त्यसका लागि कसरी तालमेल गर्नु पर्दछ त्यो चुनावी तालमेल गरौँ भन्दै निधिले यसरी चुनावमा जाँदै गर्दा पार्टीको टिकट वितरण गर्दा पार्टीकै सदस्यहरु नै स्वतन्त्र रुपमा मैदानमा उभिन बाध्य हुने अवस्था नल्याउन पनि आग्रह गरे। गत अधिवेशनमा आफू लगायतका नेताहरुले सभापतिमा उम्मेदवारी दिएको र उनीहरुको अस्थित्व पार्टीभित्र शक्तिकेन्द्रका रुपमा रहेको तथ्य स्वीकार्दै आगामी चुनावका लागि अरुसँग तालमेल गर्ने मात्र होइन, पार्टीभित्रै पनि शक्ति सन्तुलनको विषयमा ध्यान दिन जोड दिए। उनले भने, ‘सभापतिजी कांग्रेसको १४औं महाधिवेशनमा तपाईको खिलाफमा मैले पनि चुनाव लडेको थिएँ। शेखरजी लड्नु भयो, प्रकाशमानजी लड्नु भयो, रामचन्द्रजी, कृष्णप्रसाद सिटौला र शशांकजी लड्नु भएन। तर, नेपाली कांग्रेसको आन्तरिक जीवनलाई पावर सेन्टर वा सेटेलाइट सेन्टरको कुरा गर्दै गर्दा त्यसलाई हुँदै होइन भनि रेगिस्थानको सुतुर्मुगको नीति अवलम्बन गरेर हुँदैन। यो रियालिटीलाई एस्सेप्ट गर्नु पर्दछ र कांग्रेसभित्रैको आपसी तालमेल कसरी गर्ने? पूर्णरुपमा सम्भव भएन भने पनि अधिकतम् रुपमा कसरी गर्ने भन्ने प्रयास गर्नु पर्दछ। र यो जिम्मेवारी तपाईको हो सभापतिजी। तपाईको यो काममा म सहयोग गर्छु नै, र सबै केन्द्रीय सदस्य तथा सबै शक्ति केन्द्रका नेताहरुलाई पनि कसरी आन्तरिक जीवनमा एकताबद्ध भएर अघि बढौँ।’ साथै उनले कांग्रेस अथवा अन्य पार्टी भन्दा बाहिर अन्य क्षेत्रमा रहेर समाजमा क्रियाशील भएका व्यक्तिहरु स्वतन्त्र रुपमा चुनाव लड्दा राम्रो हुने रहेछ भनि हौसिने अवस्थाको श्रृजना हुन पनि दलीय व्यवस्थाका लागि हितकर नहुने धारणा राखे। पार्टीभित्र र बाहिरबाट हुनसक्ने स्वतन्त्र उम्मेदवारीको सम्भावनालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे पनि नेतृत्वले विचार पुर्याउनु पर्ने बताए। गत स्थानीय तह निर्वाचनमा पार्टीका अतिरिक्त कतिपय स्थानीय तहका वडा सदस्यदेखि प्रमुख, उपप्रमुखसम्ममा स्वतन्त्र उम्मेदवारले जितेको विषयलाई पार्टीको प्रतिवेदनमा चर्चा नगरिएको बताउँदै उनले यसलाई उपेक्षा गर्न नहुने बताए। यसका अतिरिक्त जनकपुर उपमहानगरपालिका, बर्दिवासमा कांग्रेसकै सदस्यले स्वतन्त्र उम्मेदवारी दिएर जित हाँसिल गरेको बताउँदै विगतमा पनि कतिपय स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा विजयी भएपछि उनीहरुलाई पार्टीमै ल्याएजस्तै जनकपुर र बर्दिवासका स्वतन्त्र निर्वाचित प्रतिनिधिलाई पार्टीमा ल्याउने सवालमा पार्टी उदार हुनु पर्ने सुझाव दिए। साथै उनले नेपालको आन्तरिक राजनीतिक, आर्थिक अवस्थासँगै विकसित हुँदैगएको अन्तर्राट्रिय भूराजनीतिक अवस्थालाई मध्येनजर गर्दै नेतृत्वदायी भूमिकामा रहेको कांग्रेस र यसको नेतृत्वले एउटा कार्यदल गठन गरी ठोस नीति अवलम्बन गर्नु पर्ने बताए। अन्तराष्ट्रिय सम्बन्धको चर्चा गर्दै उनले भारतसँग नेपालको विशेष सम्बन्ध रहेको र चीनसँग मैत्रिपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सार्कलाई बिर्सिन थालिएकोमा चिन्ता व्यक्त गरे। साथै उनले विदेश नीतिको सवालमा पनि पार्टीले ठोस धारणा तय गर्न कार्यदल गठनमा जोड दिए। विगत महाधिवेशनमा नीति अधिवेशन गर्ने कुरा भएको स्मरण गर्दै समयमै नीति अधिवेशन गरेर यसबारे अनावश्यक टिकाटिप्पणीको विषय बन्न दिन नहुने सझाव दिए। पार्टीभित्रै पछिल्लो समय संघीय गणतान्त्रिक लोकतन्त्रको विषयमा बहस सुरु भएको प्रसंग उल्लेख गर्दै उनले यो लोकतान्त्रिक प्रणालीका लागि हितकर नभएको बताए। उनले संघीयता, संसदीय लोकतन्त्र, समावेशीता लगायतका विषयमा अरु दलले जनतालाई प्रशिक्षित र दिशा निर्देश नगर्ने बताउँदै यसका लागि कांग्रेसले नै जिम्मेवार भएर अगाडी बढ्नु पर्नेमा जोड दिए। अझै पनि संविधानका कतिपय धाराहरु कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै संविधानले तय गरेका प्रदेश र स्थानीय तहका अनुसूचि अनुसारका कानून बनाउन र कार्यान्वयनमा लैजान ढिला गर्न नहुने सुझाव दिएका थिए। साथै उनले नीति अधिवेशन गर्नेदेखि पार्टीका विभाग, भातृ संस्था गठन लगायतका कार्य गर्न ढिलाइ नगर्न पनि सभापति देउवाको ध्यानाकर्षण गराए।  
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update