हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीका लागि तत्काल हातहतियार खरिद गर्नेतर्फ सरकारले कुनै प्रक्रिया अघि नबढाएको स्पष्टिकरण दिएका छन्। सरकारले ग्लोबल बोलपत्रविना नै प्रहरीका लागि विभिन्न हातहतियार खरिद प्रक्रिया अघि बढाएको भन्दै प्रकाशित समाचारप्रति सदनमा विपक्षी दलदेखि स्वयं देउवाकै पार्टीभित्रका उनी निकटस्थ नेताहरुले समेत विरोध जनाएपछि सभापति एवं प्रधानमन्त्री देउवाले यस्तो स्पष्टिकरण दिएका हुन्। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहिबार बोल्दै देउवा निकट मानिने नेता गोपालमान श्रेष्ठले देशको आर्थिक अवस्थासँगै विभिन्न समस्याका कारण सर्वसाधारण जनता संकटको सामना गरिरहेको बेला सरकारले उनीहरुको राहतका लागि काम गर्न ध्यान दिनु पर्नेमा प्रहरीको लागि हातहतियार खरिद गर्न लागेको भन्ने समाचारले सरकारप्रति असन्तुष्टि बढेको बताएका थिए। बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार, नेता श्रेष्ठले सरकारले हातहतियार अहिले किन खरिद गर्नु पर्यो भनि प्रश्न गर्नासाथ सभापति देउवाले जवाफमा सरकारले हातहतियार खरिद गर्ने कुरा नगरेको दाबी गरे। ‘होइन, कल्ले भन्यो सरकारले हतियार किन्न लागेको भनेर? सरकारले हतियार किन्ने निर्णय गरेकै छैन भन्या,’ प्रधानमन्त्री देउवाको भनाई उद्रित गर्दै ति नेताले भने। यसअघि बुधबारको संसद बैठकमा विपक्षी दल नेकपा एमाले सांसदहरुले पनि यसबारे आपत्ति प्रकट गरेका थिए। यसैथरी आजको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसका अधिकांश नेताहरुले आगामी निर्वाचनमा चुनावी तालमेल गरी अघि बढ्ने विषयमा बहस र छलफल जारी राखेका थिए। पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रिय सदस्यहरुले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनले भने, ‘बैठक चालु छ। सबैको चासो चिन्ता, पार्टीलाई अब कसरी राम्रो बनाउने, निर्वाचनमा कसरी पार्टीले सफलता हासिल गर्ने, साथै देशको समसामयिक विषय, जनताका पीर, मर्का, चासो र चिन्ताका विषयहरुमा छलफल भएको छ। सरकारले गरेका कामका विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा कुरा राख्नुभयो। साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्छौं।’ यसैगरी सहमहामन्त्री बद्री पाण्डेले बैठकमा आगामी निर्वाचनमा सफलताका लागि चुनावी तालमेल गर्नेदेखि त्यो नभएमा वैकल्पिक रणनीति बनाउने विषयमा पनि छलफल भएको बताए। शनिबार बस्ने अर्को बैठकमा बोल्न बाँकी सदस्य, पदाधिकारी लगायतले आफ्ना धारणा राखेपछि सबै विषयलाई समेटेर सभापतिले जवाफ दिने र त्यसपछिको बैठकले पार्टीको लिखित बुँदागत निर्णय गर्ने जानकारी पनि पाण्डेले दिए।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update