प्रतिनिधि सभामा रहेका सत्ता साझेदार दलका अतिरिक्त सत्ता बाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीको साथ र समर्थन नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमको पक्षमा देखिएपछि आज हुने प्रतिनिधि सभा उपसभामुखमा भुसालको जित सुनिश्चित भएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनको तर्फबाट प्रस्तावित उम्मेदवार गौतम र विपक्षी दल नेकपा एमाले सांसद विद्या भट्टराईबीचको चुनावी प्रतिस्पर्धा सुरु गर्दा संसदमा रहेका सत्ता गठबन्धनका सबै सदस्यका अतिरिक्त लोसपाका सांसदले समेत गौतमकै पक्षमा मत दिने घोषणा गरेपछि उनको जितको औपचारिकता पूरा गर्न मात्रै बाँकी रहेको छ।
एमालेकी उम्मेदवार भट्टराईको पक्षमा उनको पार्टीका अतिरिक्त एक सिट सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेन मात्रै उभिएपछि भट्टराईको पक्षमा सय मत पनि नपुग्ने सम्भावना बढेर गएको छ।
नेमकिपाका प्रेम सुवालले भने आजको चुनावी प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने जानकारी दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय