प्रतिनिधि सभामा विगत तीन वर्षदेखि रिक्त रहँदै आएको उपसभामुख पदमा उम्मेदवारी दिएकी नेकपा एमाले सांसद विद्या भट्टराईको उम्मेदवारी प्रस्ताव संसदको निर्वाचन प्रक्रियामा नै नजाने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाएको दोस्रो बैठकमा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु गर्दै सुरुमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस सचेतक पुष्पा भुसाल गौतमको प्रस्तावमाथि सुरुमा निर्वाचन प्रक्रिया अघि बढाएपछि भट्टराईको उम्मेदवारीमाथि कुनै कारबाही नहुने स्थिति बनेको हो।
संसदमा रहेका सत्तासझोदार दलका अतिरिक्त लोकतान्त्रिक फोरमका सदस्यले समेत भुसालको पक्षमा मत दिने भएपछि अहिले सुरु भएको मतदान प्रक्रियामा सभामा उपस्थित बहुमत सदस्यको समर्थनमा भुसाल उपसभामुख पदमा निर्वाचित हुने पक्का भएको छ।
उम्मेदवारी दर्ता पहिलो नम्बरमा नै गरेकी भुसालको प्रस्तावमाथि पहिलो निर्णय प्रक्रिया सुरु हुँदा उनको पक्षमा बहुमत सदस्यले मत दिएपछि त्यसपछिको क्रममा रहेकी भट्टराईको उम्मेदवारीमाथि कुनै कारबाही हुने छैन।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय