नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छिन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहिबार उक्त पदका लागि मनोनयन दर्ता गरेकी सांसद भुसालको प्रस्तावमाथि गरेको मतदान प्रक्रियामा संसदमा रहेका कुल सदस्यको बहुमतले समर्थन जनाएपछि उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
उपसभामुख पदका लागि एमाले सांसद विद्या भट्टराईले पनि उम्मेदवारी दिएको भएपनि दर्ता क्रम संख्याका आधारमा पहिलो क्रममा रहेकी भुसालको नाममाथि सभामुखले सुरुमा मतविभाजनको प्रक्रियाबाट टुंगो लगाएका थिए।
यसरी सुरुमा मत विभाजन गर्दा सत्ता साझेदार दलका अतिरिक्त लोकतान्त्रिक समाजवादीका सांसदले समेत भुसालको पक्षमा मत दिएपछि उनले संसदमा उपस्थित कुल २४२ सदस्यमध्ये १४८ जनाले मत दिएको जानकारी सभामुखले दिँदै भुसाल अबको बाँकी कार्यकालका लागि उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे।
उनको विपक्षमा एमालेका र राप्रपाको ९३ मत परेको थियो भने प्रेम सुवालले मत दिएनन्।
भुसाल विगत ०६३ पछिको पुनस्थापित संसद र त्यसयता बनेका संविधान सभा तथा प्रतिनिधि सभामा उपसभामुख बन्ने पहिलो कांग्रेस महिला नेतृ बनेकी छिन्।
यसअघि ०५६ सालको संसदमा चित्रलेखा यादव उपसभामुख बनेकी थिइन्।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय