नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता साझेदार दल निकट विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन्।
आइतवार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा बिरोध प्रदर्शन गरेको हो।
गभर्नर अधिकारीलाई नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य मनोनयन गरिएको पत्र सार्वजनिक भएपछि उनको विषयमा उठेको नैतिकताको प्रश्नलाई सदनदेखि सडकसम्म सत्ता पक्षका नेता, कार्यकर्ताले उठाउँदै आएका छन्।
भलै एमाले र गभर्नर स्वयंले उक्त विभागका सदस्य एम अधिकारी गभर्नर नभएको भनि ढाकछोपको असफल प्रयास गर्दैआए पनि सत्ता निकट विद्यार्थीहरुले गभर्नरबिरुद्ध आन्दोलन गरेका हुन्।
सरकारलाई दबाब दिएर गभर्नरको राजीनामा माग गर्न विद्यार्थीहरुले प्रदर्शन शुरु गरेका छन्।
बिरोध प्रदर्शनमा बोल्दै अहिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको आरोप लगाए।
उनले गभर्नरको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताउँदै राज्य शक्तिको दुरुपयोग गरेर नेकपा एमालेले अहिलेपनि काम गरिरहेको आरोप समेत लगाए।
उनले ऐनलाई छलेर एमालेले अर्थतन्त्रको नेतृत्व गर्न दिएको भन्दै राजीनामा आउनुपर्ने माग गरे।
नेकपा एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको आरोप लगाउँदै डमीको रुपमा ल्याउन लागिएका एम अधिकारी स्वीकार्य नहुने चेतावनी दिए।
बिरोध प्रदर्शनमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माग गरे।
उनले २४ घण्टाभित्र राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी पनि दिए।
अध्यक्ष शेर्पाले आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय